महोत्तरी, २४ असार : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरलाई अयोध्यासँगको धार्मिक पर्यटनसँग जोड्न सके यहाँको विकासले एउटा महत्त्वपूर्ण फड्को लिनसक्ने बताउनुभएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशको ‘घुमौँ मधेस, बुझौँ मधेस’ प्रचार अभियानको समापन कार्यक्रमलाई आज जनकपुरमा सम्बोधन गर्दै सिंहले सङ्घीय सरकारले यसको पहलकदमी लिनपर्ने उल्लेख गर्नुभयो ।
“सीता र राम छुट्याउनै नसकिने विश्वास हुन्, रामको जन्मभूमि र सीताको जन्मभूमि महत्त्वका दृष्टिले फरक हुन सक्दैनन्”, सिंहले भन्नुभयो, “तर नयाँ राममन्दिर निर्माणपछि अयोध्यामा बढेको मान्छेकोे आस्थालाई हामीले जनकपुर डो¥याउन सकेका छैनौँ ।” राम दर्शनका लागि अयोध्या पुग्नेहरूमा जनकपुर पुगेर सीता दर्शन नगरेसम्म यात्राले पूर्णता नपाउने कुरा प्रचार र दुई देशबीचको आपसी विश्वासबाट जगाउनसके यहाँको धार्मिक पर्यटनमा ठूलो उपलब्धि हुने उहाँको भनाइ छ ।
राम दर्शनका लागि अयोध्यामा पुगेका केही प्रतिशतमात्र जनकपुर जोडिँदा पनि यहाँको पर्यटन प्रवर्द्धनमा निकै सघाउ पुग्ने मुख्यमन्त्री सिंहको विश्वास छ । जनकपुर आइपुग्ने पर्यटकलाई विस्तारै मधेसका अन्य धार्मिकस्थलसँग जोड्दै लान सकिने सम्भावना हुने उहाँले बताउनुभयो । यो सङ्घीय सरकारको प्रयत्नबाट हुनपर्ने उहाँको जोड छ । “देश समृद्ध भए प्रदेश बलियो भइहाल्छ नि !” उहाँको भनाइ छ । यसका लागि आफूले केन्द्र सरकारसम्म निरन्तर कुरा पु¥याइरहेको सिंहले बताउनुभयो ।
महासङ्घले गत वर्ष २०८१ साल जेठ ५ गते बाराबाट सुरू गरेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ प्रचार अभियानको शृङ्खला आठै जिल्लामा सकेर आज समापन गरेको हो । यस अभियानको क्रममा आठ वटै जिल्लाका धार्मिक, पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक पर्यटनका सम्भावना पहिचान गर्दै बनाइएको वृत्तचित्रप्रति महासङ्घले मुख्यमन्त्रीलाई हस्तान्तरण गरेको छ । अभियानको पहिलो चरणको समापनसँगै अब सम्भावित ठाउँमा तीनै तहका सरकारसँगको समन्वयमा अघिल्ला काममा भागीदारी लिएर काममा जाने महासङ्घले प्रतिबद्धता जनाएको छ ।
महासङ्घले तयार गरेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ को अभियान र अवधारणालाई मधेस सरकारले कार्यक्रममा समावेस गरेर अपनत्व लिएपछि आफूहरू उत्साहित भएको महासङ्घका अध्यक्ष हीरालाल गौतमले बताउनुभयो । समापन कार्यक्रममा मुख्यमन्त्री सिंहले एक वर्षसम्म यो अभियानलाई प्रदेशका आठै जिल्लामा पुर्याएर मधेस चिनाउन र बुझाउन योगदान दिनेहरूलाई कदरपत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।