07/05/2025, 02:49:16

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ


बागमती, २० असार : बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल प्रारम्भ भएको छ ।

यही असार १ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गर्नुभएको थियो । सो बजेटमाथि आजदेखि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो ।

आजको प्रदेशसभा बैठकमा २६ जना प्रदेशसभा सदस्यहरुले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राख्नुभयो । प्रदेशसभा सदस्यहरुले जनताको चाहना र प्रदेशको आवश्यकताअनुसार बजेट नआएकाले त्यसलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभाको अर्काे बैठक शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । बजेटमाथिको छलफलले भोलि पनि निरन्तरता पाउने उहाँले बताउनुभयो । आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ माथि सभामा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

सो विधेयक बैठकमा छलफलका लागि सर्वसम्मतले स्वीकृत भएको सभामुख भुवनकुमार पाठकले घोषणा गर्नुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ