07/03/2025, 13:37:18

सङ्खुवासभामा किराँत लोहोरुङ्ग राई सङ्ग्रहालय भवन हस्तान्तरण


किमाथाङ्का (सङ्खुवासभा), १९ असार : सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मा किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । खाँदबारी–४ पाङ्मा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको रु एक करोड ८२ लाख १३ हजारको लागतमा निर्मित किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालय खाँदबारी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

किराँत राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेषभूषा संरक्षणार्थ नवनिर्मित किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालय भवन एक कार्यक्रमबीच हस्तान्तरण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख सुमन मिश्रले जानकारी दिनुभयो ।

भवन हस्तान्तरण कार्यक्रममा खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले किराँत राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदालाई सङ्कलन र संरक्षण गर्ने सहयोग पुग्ने बताउनुभयो । सङ्ग्रहालयको विकास गरी किराँत अध्ययन केन्द्रका रुपमा स्थापित गर्ने र पर्यटनमा टेवा पुर्‍याउने गरी दीर्घकालीन योजनाका लागि नगरपालिकाले आवश्यक सहयोग गर्न नगरप्रमुख थपलियाले बताउनुभयो ।

किराँत लोहोरुङ्ग (राई) याख्खा सङ्ग्रहालयमा मुख्य रुपमा यहाँ किराँत समुदायको संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन, वेषभूषा सङ्ग्रहित खाँदबारी नगरपालिका–४ पूर्ववडाध्यक्ष तथा स्थानीय सजित राईले बताउनुभयो । भवनमा राखिने सामग्रीले किराँत संस्कृतिको झल्को दिनेछ । उक्त भवन श्री जिम्बा/स्टार सैलुङ जेभी निर्माण कम्पनीले २०८० चैत ६ मा निर्माणको जिम्मा लिएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ