06/29/2025, 11:12:15

अब वृक्षरोपण उत्सव होइन, दायित्व हो : मधेस प्रदेश मुख्यमन्त्री सिंह


जनकपुर, १५ असारः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षरोपणलाई मूल विकल्पका रूपमा अघि सार्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा धनुषाको धनुषाधाम नगरपालिका–९ मुर्गियास्थित बुद्ध कबुलियत वन क्षेत्रमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले जलवायु सङ्कट समाधानका लागि वृक्षरोपणमात्र नभई संरक्षण र हुर्काउने संस्कृतिको विकास आवश्यक रहेको धारणा राख्नुभयो ।

वृक्षरोपण अब उत्सव नभएर दायित्व हो”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असर देशको आर्थिक, सामाजिक र समग्र क्षेत्रमा परेको छ । यसको समाधानका लागि वृक्षरोपण र संरक्षण नै अबको मूल उपाय हो ।

मुख्यमन्त्री सिंहका अनुसार जलवायु परिवर्तनका कारण मधेस प्रदेशमा खेतीयोग्य जमिनमा नकारात्मक असर परेको, भूमिगत जलको ह्रास भइरहेको र तापक्रमसमेत उच्च भइरहेको छ । यी समस्याको दीर्घकालीन समाधानका रूपमा वृक्षरोपण अभियानलाई जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

अब बिरुवा रोपेरमात्र हुँदैन, जोगाउने र हुर्काउने संस्कारको विकास गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले जलवायु परिवर्तनलाई विश्वव्यापी चुनौतीका रूपमा प्रस्तुत गर्नुभयो । “पृथ्वीको पर्यावरणीय चक्रमा गम्भीर क्षति पुर्याउने खालको असर परेको छ”, उहाँले भन्नुभयो, “नेपालले पनि यसको मूल्य सामाजिक, आर्थिक र पर्यावरणीय रूपमा चुकाइरहेको छ ।

मन्त्री यादवले मधेसमा वन विनासका कारण बाढी र भूक्षयको समस्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै आठवटै जिल्लामा संरक्षणमुखी वृक्षरोपण अभियान सञ्चालन भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार सरकारको एकल प्रयासले मात्र पर्याप्त नहुने हुँदा अभियानमा स्थानीय समुदाय, विद्यालय, युवा क्लब, नागरिक समाज र सञ्चारमाध्यमको सहकार्य अपरिहार्य छ ।

डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोदन सिंहका अनुसार बुद्ध कबुलियत वन क्षेत्रभित्र बाँस, सिसौ, आमला, सिमल, टिक, आँपलगायत फलफूल तथा काठजन्य रुखका बिरुवा रोपिने छ । उहाँका अनुसार उक्त वनक्षेत्रमा खाली रहेको १० हेक्टर जमिनमा वृक्षरोपण गरिनेछ ।

कार्यक्रममा प्रदेश सरकारका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थी, स्वयंसेवक र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो । सरकारले बर्सेनि मनाउँदै आएको राष्ट्रिय वृक्षरोपण दिवसका कार्यक्रममार्फत वनक्षेत्र विस्तार र वातावरणीय सन्तुलन कायम राख्न खोजिएको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ