काठमाडौँ, १३ असारः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन २८ देखि जुलाई ४’ सम्म आयोजना हुने ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्स’ को ४४औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उहाँले सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । उहाँले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्छ ।
उक्त सम्मेलन पश्चात् परराष्ट्रमन्त्री डा राणा इटालीको मिलान, जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ । उहाँलाई आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राई सहित उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।