विराटनगर, १० असारः कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विधेयकमाथिको छलफलले निरन्तरता पाएको छ ।
छलफलमा कोशी प्रदेशसभा सदस्यहरु कमलप्रसाद जबेगु, प्रेमराज थाम्सुहाङ, इन्दिरा थापा, तिलकुमार मेङयाङ्बो र रामदेव यादवले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
विशेष समय
विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेशसभा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले यातायात व्यवस्थापनमा सिटीसफारी चालकलाई सवारी अनुमतिपत्र दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले सिटीसफारी दुर्घटना भएमा सवारी चालक, सवारी धनी र बीमा कम्पनी तथा यात्रु पनि प्रभावित हुने भएकाले यसमा सरकार गम्भीर बत्रुपर्ने सुझाव दिनुभयो । उहाँले विनियोजन विधेयकमा कृषि क्षेत्रमा बजेट न्यून रहेको र उत्पादनका क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभएकामा गुनासो गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले विनियोजन विधेयकमा चालु र पुँजीगत खर्चमा अन्तर देखिएकाले सच्याउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो । उहाँले यस किसिमको बजेटले हाम्रो लक्ष्य र उद्देश्यलाई पूरा गर्न नसक्ने भएकाले सरकार बजेट सच्याउनै पर्ने धारणा राख्दै सरकारले कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिनुभयो ।
शून्य समय
शून्य समयमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले पर्यटन वर्ष २०८२ लाई सफल बनाउन प्रदेश सरकारका साथै स्थानीय तहले पनि आफ्ना नीति तथा कार्यक्रममा समावेश गर्नुपर्नेबताउनुभयो ।