06/24/2025, 13:28:00

वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट


वीरगञ्ज (पर्सा), १० असारः वीरगञ्ज महानगरले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु तीन अर्ब २२ करोड ४८ लाख ४९ हजारको बजेट ल्याएको छ ।

महानगरको नगरसभाको १७औँ अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आवको आयव्ययसहितको बजेट प्रस्तुत गर्नुभएको हो । “महानगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ रु दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कुल बजेटको ७० दशमलव २४ प्रतिशत बजेट विनियोजन गरेको छ”, उपप्रमुख आलमले भन्नुभयो, “महानगरले पुँजीगत खर्चतर्फ रु ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८ दशमलव ६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन करोड ६४ लाख अर्थात् एक दशमलव १२ प्रतिशत विनियोजन गरेको छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च बेहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट रु एक अर्ब १५ करोड सङ्कलन हुने लक्ष्य राखेको छ । त्यसैगरी सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ३७ करोड ३० लाख बजेट प्राप्त हुने बताइएको छ । त्यस्तै गरी सङ्घीय राजस्व बाँडफाँटबाट रु २३ करोड ७८ लाख, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड, प्रदेश राजस्व बाँडफाँटबाट रु एक करोड ६७ लाख १३ हजार राजस्व सङ्कलन हुने अनुमान गरेको छ । त्यस्तै घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रु २५ करोड र नगद मौज्दातबाट रु १५ करोड खर्च बेहोरिने बताइएको छ ।

उपप्रमुख आलमले आगामी आवको बजेटको मुख्य प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेको जानकारी दिनुभयो । वीरगञ्ज महानगरले चालु आवभन्दा आगामी आवमा ३३ करोड बढीको बजेट ल्याएको छ । चालु आवका लागि वीरगञ्ज महानगरको बजेट रु दुई अर्ब ८९ करोड ४८ लाख थियोे ।

बिपी उद्यान र रेल्वे सङ्ग्रहालय बनाइने

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा वीरगञ्ज महानगरको मुटुमा रहेको घण्टाघर आसपासको खाली सार्वजनिक जग्गालाई हरित र आधुनिक बिपी उद्यान निर्माण गर्ने घोषणा गरेको छ । वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंहले आज यहाँ नगरसभाको १७औंँ अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बिपी उद्यानलाई नगरवासीको खुला विश्रामस्थलका रुपमा अघि बढाउने बताउनुभएको हो ।

महानगरले वीरगञ्ज नेपालको पहिलो रेल सेवा प्रारम्भ भएको ऐतिहासिक सहर भएकाले बिपी उद्यानको उत्तरपट्टि रहेको पुरानो रेल्वे क्षेत्रमा ‘रेल्वे सेवा स्थापना भएको १०० वर्षको अवसरमा, पुराना रेल्वे संरचनालाई संरक्षण र पुनः प्रयोग गर्दै ‘रेल्वे म्युजियम’ निर्माणको कार्य अघि बढाइने नीति तथा कार्यक्रममा समावेश गरेको छ । “यसमार्फत वीरगञ्जको ऐतिहासिक सम्पदाको जगेर्ना, पर्यटकीय प्रवद्र्धन, र नयाँ पुस्तामा रेल्वे इतिहासबारे ज्ञान अभिवृद्धि गरिनेछ”, प्रमुख सिंहले भन्नुभयो । महानगरले आगामी आवमा वीरगञ्ज–२८ मा अवस्थित बगही अस्पताललाई महानगर नमूना अस्पतालको रुपमा विकास गर्ने भएको छ ।

भोजपुरी भाषा र संस्कृतिको ऐतिहासिक, सांस्कृतिक र सामाजिक योगदान रहेकाले भोजपुरी भाषा र संस्कृतिको संरक्षण, अभिवृद्धि तथा अन्तरराष्ट्रिय प्रचारप्रसार गर्ने उद्देश्यले वीरगञ्जमा अन्तरराष्ट्रिय भोजपुरी सम्मेलन आयोजना गर्ने नीति तथा कार्यक्रममा समावेश छ । नेपाल–भारत प्रवेशद्वारमा पर्यटन सूचना केन्द्र तथा एकीकृत सवारी जाँच केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाभित्र सडक वा खुला स्थानमा माछा–मासु खुल्ला रूपमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइने भएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ