चितवन, ८ असार : भरतपुर महानगरपालिकाले वरपीपल रोप्ने अभियान सुरू गर्ने भएको छ । महानगरको १७औंँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख रेनु दाहालले हरियाली प्रवर्द्धनसँगै वरपीपल रोप्ने अभियानलाई प्राथमिकतामा राखिने बताउनुभएको हो ।
समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाले पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै हरियाली प्रवर्द्धन र सुरक्षित महानगरका रूपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो ।
वरपीपल रोप्ने अभियान सञ्चालन गरी टोल विकास संस्थामार्फत संरक्षण कार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । हरियाली महानगरपालिका कार्यक्रमको लागि महानगरको आफ्नै नर्सरीबाट उत्पादित विभिन्न जातका फलफूलका बिरुवा रोपिनुका साथै बिक्री वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘भरतपुर महानगर : हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई सार्थक बनाउन हरियाली एवं सरसफाइ वर्ष कार्यक्रम सञ्चालन गरी हरियाली प्रवर्द्धनका कार्यक्रमलाई टोल विकास संस्था समेतलाई परिचालन गरी सरसफाइ र हरियालीलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । मापदण्ड पुगेका सडक दायाँबायाँ वृक्षरोपण र नगरवासीलाई बहुवर्षीय एवम् फलफूलका बिरुवा निःशुल्क वितरण गरिने जनाइएको छ ।
“एक घर, दुई रुखको नीति’ लाई घर निर्माण सम्पन्न प्रक्रियामै समावेश गरी प्रभावकारी कार्यान्वयन र उचित संरक्षणको व्यवस्था गरिने पनि जनाइएको छ । यस्तै सामुदायिक तथा संस्थागत विद्यालयलाई मागको आधारमा निःशुल्क बिरुवा वितरण गरी वृक्षरोपण र संरक्षणको व्यवस्था मिलाइने बताइएको छ ।सङ्घीय सरकारसँगको सह लगानीमा महानगरभित्रका वडा नं २९, रामनगर, नारायणगढ र भरतपुर बजार क्षेत्रलाई समेट्ने गरी एकीकृत सहरी खानेपानी तथा ढल व्यवस्थापन आयोजना आव २०८२/८३ बाट कार्यान्वयन प्रारम्भ गरिने महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।
‘उज्यालो भरतपुर’ अभियान अन्तरगत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा निर्माणधीन पहिलो र दोस्रो चरणको स्मार्ट सडक बत्ती, हाई मास्ट एवम् मिनी मास्ट बत्ती जडान र विस्तारको साथै मुख्य बजार क्षेत्रमा बिजुलीका तारलाई भूमिगत प्रणालीमा लैजाने काम सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरभित्रका पार्क, सामुदायिक वन तथा अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने व्यवस्था गरी राजस्वको दायरामा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगर प्रमुख दाहालले सम्बन्धित निकायको सहयोग तथा समन्वयमा साझा पूर्वाधार अवधारणा अनुसार नगरभित्रका विद्युत्, टेलिफोन, केबुल लाईन र इन्टरनेटका तारलाई भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने बताउनुभयो । महानगरपालिकाभित्रका खोलानाला संरक्षण अभियानलाई तीव्रता दिई केरूङ्गा घोल, पुङ्गी खोला, पोखरी, ताल, सिमसार क्षेत्रको संरक्षण गरी आकर्षक पर्यटकीय करिडोरका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरभित्रका नगर गौरवका आयोजनालाई सार्वजनिक–निजी–साझेदारी विधिबाट सञ्चालन गर्ने नीति अनुरूप लायन्स चोकमा महानगरीय व्यावसायिक भवन यसै आर्थिक वर्षमा निर्माण सुरू गरिने छ । फोहरमैला व्यवस्थापनको लागि आधुनिक पूर्वाधारसहितको ल्याण्डफिल साइट निर्माणकार्य सार्वजनिक निजी साझेदारीमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा महानगरपालिकाभित्र निर्माणाधीन देशकै बृहत् महानगरीय चक्रपथ र लिङ्रोडको बाँकी खण्डमा निर्माण कार्य अगाडि बढाउने लक्ष्य लिएको छ । अन्तरराष्ट्रियस्तरको सिटीहल, रानीपोखरी पार्क, लक्ष्मीनारायण मन्दिर तथा पार्कलगायत आयोजना सङ्घीय सरकासँगको समन्वयमा निर्माण सम्पन्न गरी आर्थिक वर्ष २०८२/८३ भित्र सञ्चालनमा ल्याइने जनाइएको छ ।
भरतपुर महानगरपालिकाले दियालो बङ्गला सङ्गहालयलाई थप व्यवस्थित बनाउने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा सर्वसाधारणका लागि खुला गरिएको सङ्ग्राहालयलाई हरियाली पार्क र अन्य पर्यटकीय पूर्वाधार निर्माण गरी थप व्यवस्थित बनाइने नीति तथा कार्यक्रममा जनाइएको छ । यो सँगै देवनगर वन्यजन्तु उद्धार केन्द्र, राइनो चिल्ड्रेन पार्क, लक्ष्मीनारायण मन्दिर, प्रज्ञा स्मृति पार्क, रानी पोखरी, जोरकुसुम पार्क, देवीस्थान पार्क लगायतलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गरिने महानगर प्रमुख दाहालले बताउनुभयो ।
पटिहानी ईको पार्कलाई गुरुयोजना बमोजिम प्रदेश सरकारको सहकार्यका निर्माण बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।