भोजपुर, ८ असारः लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो ।
बस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखिको पानीको समस्या हटेको षडानन्द–१२ टारीगाउँका स्थानीयवासी मोहन तामाङले बताउनुभयो । एक गाग्री पानीको जोहो गर्न रात समयमा धारामा पालोमा बस्नुपर्ने अवस्थामा घरमा धारा जडान भएपछि सहजता भएको तामाङको भनाइ छ । “हाम्रो टारीगाउँ क्षेत्रमा पानीको अति नै समस्या थियो”, उहाँले भन्नुभयो, “एक गाग्री पानी जोहो गर्न राति २ः०० बजेबाट पालो बसेर ल्याउनुपर्ने अवस्था थियो । अहिले लोमाखोलाको पानी आएपछि सहजता छ । हामी एकदम खुसी छौँ ।”
धारा जडान भएपछि दैनिकी नै फेरिएको स्थानीय ८३ वर्षीय वृद्धा हीमादेवी कार्कीले बताउनुभयो । “म घरमा एक्लै छु”, उहाँले भन्नुभयो, “दमको रोगी भएका कारण पानी लिन बाहिर जान सक्दिनँ । स्थानीयलाई पैसा दिएर दुई बोतल पानी ल्याउन लगाएर दैनिकी चलाउँदै आएकी थिएँ । मेरा लागि साह्रै पुण्यको काम गरिदिनुभयो । पानी ल्याउनेहरूलाई आशीर्वाद दिन्छु ।”
षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका एक हजार ४१६ घरमा पानी वितरण गर्ने लक्ष्यका साथ आयोजना सञ्चालन भइरहेको छ । दुई स्किममा सञ्चालन भइरहेको आयोजनालाई आगामी आर्थिक वर्षभित्र पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईका अनुसार आयोजनाबाट तत्काललाई पानीको अति नै समस्या रहेका क्षेत्रमा पानी वितरण भइरहेको छ । यस आर्थिक वर्षमा पनि तीव्रगतिमा निर्माणको काम भइरहेकाले यस वर्ष नै एक हजार घरपरिवारमा पानी वितरण गर्ने लक्ष्य छ । लोमाखोला आयोजनाको पानी बस्तीस्तरमा वितरण थालेका छौँ । सबै स्थानीयलाई चाँडो पानी खुवाउने लक्ष्यका साथ काम गरिरहेका छौँ । यस आवमा एक हजार घरमा पानी वितरण गर्ने हाम्रो योजना छ ।
आयोजनाको स्किम–१ अन्तर्गत १२ वटा ट्याङ्कीमध्ये नौदेखि ७५ घनमिटरसम्मका नौवटा निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ । त्यस्तै दोस्रो स्किमको पाँचवटा नै वितरण ट्याङ्की निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । पहिलो ठूलो स्किमअन्तर्गत कमेरे, देउसे र दोस्रो स्किम कखुवा सिस्नेटार मुहानबाट पानी ल्याइएको छ ।
पानी मुहानमा पानी प्रशोधन संरचना नरहेकाले वर्खाको समयमा बालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको निर्माण उपभोक्ता समितिको भनाइ छ । साथै यही क्षेत्रमा सडक विस्तार भइरहेकाले कामलाई चाँडो बढाउन समस्या रहेको निर्माण समितिले जनाएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरका अनुसार हालसम्म आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । श्रमदानसहित यो आयोजनाको अनुमानित कुल लागत रु २८ करोड ५१ लाख रहेको छ । आयोजनाको वितरण लाइन खन्ने र पुर्ने काम श्रमदानमार्फत गर्ने सम्झौता रहेको छ । यस आयोजनालाई आगामी वर्षभित्रमा सम्पन्न गराउने कार्यालयको लक्ष्य छ । दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिब ४७ किलोमिटर र वितरण लाइन करिब एक सय ५३ किलोमिटर रहेको छ ।
निर्माणाधीन खानेपानीबाट पहिलो चरणको पानी वितरण थालिएपछि स्थानीय नागरिकलाई सहजता भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । खानेपानी आयोजनालाई समयमा सम्पन्न गराउन नगरको तर्फबाट आवश्यक भूमिका खेलिरहेको उहाँको भनाइ छ । यो योजनाको काम सम्पन्न भएपछि यहाँका पाँचवटा वडाका नागरिकलाई पानीको सुविधा पुग्ने उहाँको भनाइ छ ।