06/21/2025, 15:27:46

काठमाडौँ उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने


काठमाडौँ, ७ असारः खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने बताउनु भएको छ ।

बूढानीलकण्ठ नगरपालिका–४ मा निर्मित खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण कार्यक्रममा उहाँले काठमाडौँवासीले अब सधैँभरि पानी पाउने बताउनुभयो । उहाँले मेलम्चीको पानी दैनिक आपूर्ति गरिने बताउनुुभयो ।

मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सेवाको पहुँच पु¥याउन आवश्यक रणनीति बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा पानीको समस्या हुन नदिन आफू निरन्तर क्रियाशील रहेको परिणाम स्वरुप आयोजना समयमै सम्पन्न भएको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि प्रयास भइरहेको मन्त्री यादवले जानकारी दिनुभयो ।

उक्त आयोजना बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नं ५, बूढानीलकण्ठ नगरपालिका, र केयुकेएलको संयुक्त समन्वयमा निर्माण भएको हो ।

त्यस अवसरमा बागमती प्रदेश खानेपानी तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का, बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का अध्यक्ष राम केसी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत उपपिस्थत हुनुहुन्थ्यो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ