काठमाडौँ, ७ असार : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई फसाउन जीबी राईमाथि पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएक बताएका छन् । भैरहवा कारागारमा रहेका लामिछानेले सार्वजनिक अपिलमार्फत आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको उल्लेख गरेका छन् ।
‘चार जिल्ला, चार उच्च र पछि सर्वोच्चसम्म गरेर नौ–नौवटा अदालतमा (अब त पर्सा जिल्ला अदालत पनि थपियो) मुद्दा झुन्ड्याइएको व्यक्तिले कानुन व्यवसायीको राय नसुन्न पनि मिलेन,’ उनले भनेका छन् ।
जीबी मलेसियाबाट लाखौं डलर बोकेर फर्के पनि हिसाब फरफारक गर्न नपाओस् भन्ने षड्यन्त्र हुने उनको भनाइ छ । ‘यो देशमा सबै सहकारी पीडितले पैसा फिर्ता पाएछन् भने पनि जीबी राई सम्बद्ध सहकारीका बचतकर्ताले कहिल्यै पाउने छैनन् । सुरुमा जीबी राईलाई केवल सहकारी ठगीको मुद्दा थियो । त्यसका लागि मेलमिलापको ढोकासमेत बन्द गर्ने कानुनी प्रपञ्च रचिसकिएको छ,’ लामिछानेले अपिलमा भनेका छन् ।
स्वस्थ र प्रजातान्त्रिक विधिबाट रास्वपासँग अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि राजनीतिक दलहरु आफूविरुद्ध षड्यन्त्रमा लागेको पनि उनको आरोप छ ।
‘सञ्चारकर्म छोडेर राजनीतिमा आउने निर्णय त गरेँ तर प्रवेश कसरी ? मसँग दुई विकल्प थिए,’ उनले भनेका छन्, ‘या त स्थापित पार्टीभित्रै छिरेर हस्तक्षेप गर्ने या नयाँ पार्टीको संरचना खडा गरेर स्थापितलाई घचघच्याउने ।‘
पार्टीको नेतृत्व गरिदिन विभिन्न विशिष्ट व्यक्तिको दैलोसम्म पुगे पनि धेरैले इन्कार गरेको लामिछानेले खुलासा गरेका छन् । ‘सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिलकेसरी शाहसम्म यस्ता कैयौं व्यक्तिसँग पार्टीको नेतृत्व गरिदिन हारगुहार गरेँ । कसैले विश्वास नगरेपछि मात्रै म आफैं सभापति भएर पार्टी दर्ता गरेको हुँ ।‘
यस्तै, एकाथरी आलोचकले सत्तालोलुपको आरोप लगाउने गरेको भन्दै उनले उल्लेख गरेका छन्, ‘म तिनलाई यत्ति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो । हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो ।‘