काठमाडौँ, ७ असार : निर्माण थालेको ३९ महिनापछि ग्वार्को ओभरपास सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ओभरपासको उद्घाटन गरे । प्रमुख अतिथिका रूपमा सहभागी प्रधानमन्त्री ओलीले रिबन काट्न भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीलाई लगाएका थिए ।
पहिलो पटक ओभरपास निर्माण भएको र यसले उक्त खण्डमा सवारी आवतजावत सहज बनाउने प्रधानमन्त्री ओलीले बताए । कोटेश्वर–सातदोबाटो खण्डमा शुक्रबारबाट चालक र यात्रुलले पहिलाजस्तो ट्राफिक जामको सास्ती झेल्नु नपर्ने उनको भनाइ छ ।
यस खण्डमा भइरहने ट्राफिक जाम व्यवस्थापन गर्न ओभरपास बनाइएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले बताए । ओभरपास भएर गुड्ने सवारीसाधनले अब बीचमा रोकिनुपर्ने छैन । यसको मर्मतसम्भारको काम पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै गर्नेछ । डिजाइनमा केही त्रुटि देखिए १० वर्षसम्म उही कम्पनीले काम गर्नुपर्ने सर्त छ । ओभरपास ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८५ मिटर लामो छ । दुवैतर्फ चार तहको कालोपत्र गरिएको छ । ओभरपासको र्याम्पको दूरी १०.२ मिटर छ । ओभरपास चार लेनको छ । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा यसको ठेक्का लिएको हो । तोकिएको समय र पटक–पटक म्याद थप्दा पनि व्यवसायीले काम नसकेपछि पुस १० देखि जेठ ३१ सम्म हर्जना लगाएर काम गराइएको भण्डारीले जनाए ।
सडक बत्ती र सीसी क्यामेरा जडान गर्ने विषयमा ठेक्कामा नभएकाले सडक विभागसँग समन्वय गरेर अघि बढ्ने उनले सुनाए । दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा यसको निर्माण थालिएको थियो । सम्झौता अनुसार २०८० फागुन १२ भित्र काम सकिनुपर्ने थियो । ठेकेदार कम्पनीले पटक–पटक समय थप्दा पनि काम नसकेपछि जरिवाना लगाएर काम गराइएको हो ।