काठमाडौँ, ६ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार बौद्धिक सम्पत्तिसम्बन्धी कानुन निर्माण गरी त्यसको अधिकार संरक्षणका लागि दृढ रहेको बताउनुभएको छ ।
बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल र मिडिया आई प्रालिको आयोजना तथा संस्कृति मन्त्रालयको सहकार्यमा आज सिंहदरबारमा भएको बौद्धिक सम्पत्तिको अधिकार संरक्षणको अवस्था, चुनौती र अवसर विषयक अन्तक्र्रियामा मन्त्री पाण्डेले सरकारले पुरानो कानुनलाई प्रतिस्थापन गरेर नयाँ कानुन बनाउने चरणमा रहेको जानकारी दिनुभयो ।
कतिपय हाम्रा रैथाने परिचयहरू पनि बौद्धिक सम्पत्तिका रूपमा रहेका उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “इलामको चिया, भक्तपुरको जुजु धौ, जुम्लाको मार्सी, हुम्लाको सिमी छन्, मःम पनि हाम्रो आफ्नो सृजना हो । थकाली खाना पनि हाम्रो आफ्नो सम्पत्ति हो । यी विविध सम्पत्तीमाथि हाम्रो हक स्थापित गर्नुपर्छ र यसलाई कानुनी मान्यता दिलाउनुपर्छ ।”
उहाँले बौद्धिक सम्पत्तिका विषयलाई कानुनमा व्यवस्थित गर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै नेपालमा बहुआयामिक प्रकृतिका बौद्धिक सम्पत्ति रहेको र त्यसको संरक्षण अपरिहार्य भएको बताउनुभयो । उहाँले साहित्यिक, कृषि उत्पादन र अन्य ट्रेडमार्कसम्बन्धीका बौद्धिक नेपालमा प्रशस्त रहेको बताउनुभयो । उहाँले यो अन्तरराष्ट्रि विषय भएको र भूगोलले नछेक्ने हुँदा देशभित्र हाम्रो सम्पत्तिको संरक्षण र विकास गर्ने तथा देशबाहिर पनि आफ्नो परिचयलाई स्थापित गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले भन्नुभयो, “कानुन नभएकै कारण कतिपय सरोकारवाला पीडित पनि हुनुभएको होला, सरकारले सम्बोधन गर्ने हो, कानुन बनाउने र कार्यान्वयन गर्ने सन्दर्भमा सरकार गम्भीर हुनुपर्छ, बौद्धिक पुँजी संरक्षणमा सक्षम हुनेछौँ र हामी संरक्षणमा सामूहिक प्रयत्न गर्नेछौँ ।”
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव कृष्णबहादुर राउतले नेपालमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ कार्यान्वयनमा रहेकाले त्यसलाई प्रतिस्थापन गर्नेगरी अहिले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक संसद्मा दर्ता भइसकेको जानकारी दिनुभयो ।
उहाँले ६५ वर्ष पुरानो कानुनलाई समसामयिक बनाउने र संस्थागत विकास गरेर सृजनशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको सुनाउनुभयो । उहाँले नेपालमा ८९ वटा मात्र पेटेन्ट दर्ता छ । ६४ हजार ट्रेडमार्क दर्ता छ । औद्योगिक डिजाइन त नगन्य मात्रामा दर्ता रहेको जानकारी दिनुभयो ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले बौद्धिक सम्पत्तिमा जति गर्नुपर्ने हो त्यो गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले यसको संरक्षणमा केही थप काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले मन्त्रालय सरोकार राख्ने प्रतिनिधिहरूसँग निकटमा रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सङ्गीत रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले प्रतिलिपि अधिकार र बौद्धिक अधिकार सुरक्षित र व्यवस्थित हुन सकेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।
यसप्रति जनचेतनाको अभावले रहेको उल्लेख गर्दै उहाँले बौद्धिक सम्पत्तिको दुरुपयोग मानवअधिकारकै उल्लङ्घन हो भन्नुभयो । नेपालमा पनि प्रशस्त सम्पत्तिको संरक्षण रहेको तर ती स्रष्टाको संरक्षण गर्न नसकिएको बताउँदै उहाँले गीत चोरेर रेकर्डिङ हुने गरेको अनुभव सुनाउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले नेपालको रैथाने बौद्धिक सम्पत्तिको संरक्षण हुन नसक्दा त्यसै बसिरहेको बताउनुभयो । आगामी दिनमा नेपालमा छरिएर रहेका त्यस्ता सम्पत्तिलाई संरक्षण गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका अध्यक्ष विसुकुमार केसीले बौद्धिक सम्पत्ति संरक्षणमा अलमल रहेको सुनाउनुभयो । कतिपयलाई पेटेन्ट कसरी दर्ता गर्ने भन्नेसम्म जानकारी नभएको बताउँदै उहाँले त्यसको जानकारी गराउने प्रयास समाजले गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बौद्धिक सम्पत्तिसम्बन्धी प्रकाशित जर्नलको समेत विमोचन गरिएको थियो ।