06/20/2025, 21:49:51

देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री ओली


ललितपुर, ६ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताउनुभएको छ ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित फ्लाई ओभरको उद्घाटन गर्दै उहाँले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा निर्मित ग्वार्काे फ्लाई ओभरको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण गरेको हो । इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्मित् उक्त फ्लाई ओभर नेपालको पहिलो हो । कुल पाँच सय मिटर ‘अप्रोच’ सडक रहेको यसमा ३५ मिटर स्पानको चार लेन पुल निर्माण भएको छ । ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।

हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीनवटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खननको सुरुआत गरेका थियौँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमा फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसरी विकास हुँदा विदेश जाने मुद्रा स्वदेशमा रहन्छ । ठूलो आर्थिक लाभसहित रोजगारी सृजना हुन्छ । अरु खनिजको उत्खनन, कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची–महाकालीको कायाकल्प गर्ने बताउँदै उहाँले देशले पूर्वाधार विकासका क्षेत्रमा गति लिँदै गएको बताउनुभयो । उहाँले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गलगायत अन्य आयोजनाले पनि गति लिइरहेका उल्लेख गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ