06/18/2025, 13:51:00

ग्वार्को ओभरपास शुक्रबारदेखि सञ्चालनमा आउँदै

ओभरपास चार लेनको बनेको छ, सञ्चालनमा आएपछि यस खण्डमा दैनिक हुने ट्राफिक जाम घट्नेछ, यात्रा छिटो हुनेछ ।


काठमाडौँ, ४ असार : निर्माण थालेको ३९ महिनापछि ग्वार्को ओभरपासको काम सकिएको छ । कोटेश्वर–ग्वार्को–कलंकी खण्डमा दैनिक ट्राफिक जाम बढेपछि विकल्पमा ओभरपास निर्माण थालिएको थियो । शुक्रबारदेखि ओभरपासमा सवारीसाधनले ओहोरदोहोर गर्न पाउनेछन् ।

यस खण्डमा ट्राफिक प्रहरीलाई सवारी जाम खुलाउन दैनिक हम्मे पर्छ । बिहान कार्यालय समय र साँझ बढी सवारी चाप बढी हुने गरेको ट्राफिक वृत्त कोटेश्वरका प्रमुख सूर्यप्रसाद पौडेलले बताए । ‘ओभरपास निर्माण थालेदेखि यस खण्डमा ट्राफिक जामको समस्या पनि बढेको हो, पहिला पनि यो खण्डमा ट्राफिक जाम बढी नै हुन्थ्यो,’ उनले भने, ‘ओभरपास सञ्चालनमा आएपछि यो समस्या हट्नेछ, सवारी आवागमन सहज हुनेछ ।

ग्वार्कोबाट लुभुतिर जाने गाडी ओभरपासमुनिबाटै वारपार गर्ने र कोटेश्वरबाट कलंकी जाने सवारीसाधनले ओभरपास प्रयोग गर्ने भएकाले यस खण्डमा हुने ट्राफिक जाम कम हुने सडक विभागको भनाइ छ । अहिले ओभरपासमा रंगरोगन र ट्राफिक बत्ती जडान गर्ने काम भइरहेको विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले बताए । ‘यी सबै काम शुक्रबारअघि सक्ने तयारी छ,’ उनले भने, ‘ओभरपास चार लेनको बनेको छ, सञ्चालनमा आएपछि यस खण्डमा दैनिक हुने ट्राफिक जाम घट्नेछ, यात्रा छिटो हुनेछ ।

ओभरपास ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८५ मिटर लामो छ । दुवैतर्फ चार तहको कालोपत्र गरिएको छ । ओभरपासको र्‍याम्पको दूरी १०.२ मिटर छ । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण थालिएको थियो । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र काम सकिनुपर्ने थियो । उक्त समयभित्र नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो, तर काम सकिएन । पछि पुस ९ सम्मका लागि म्याद थियो, तैपनि काम सकिएन । ठेक्का लिने कम्पनीले पटक–पटक समय थप गर्दा पनि काम नसकेपछि गत पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो ।

कहिले बर्खा त कहिले निर्माण व्यवसायीका कारण ओभरपासको काममा ढिलाइ हुँदै आएको थियो । कहिले सरकारी निकायकै कारण पनि निर्माणले गति लिन सकेन । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए ।

गत माघमा सातदोबाटोतर्फ ४० मिटरमा राखिएको ‘आरई वाल प्यानल’ मा समस्या आएपछि निकालेर पुनः राखिएको थियो । उक्त काम गर्न एक महिना लागेको थियो । सबै प्यानल इन्टरलकिङ भएका कारण ४० मिटर पूरै निकालिएको थियो । ओभरपासको काम पहिलो भएकाले घाटा सहनुपरेको निर्माण व्यवसायीको भनाइ छ ।

ओभरपासले ट्राफिक व्यवस्थापनमा सहयोग पुगे कोटेश्वर र सातदोबाटोमा पनि बनाउन सकिने सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘निर्माणमा केही ढिलाइ भयो, अब केही समस्या छैन,’ उनले भने, ‘पहिलो पटक निर्माण गरिएकाले हामीलाई सिकाइको कुरा पनि भयो, अर्को ठाउँमा निर्माण गर्दा अहिले भएका कमीकमजोरीलाई सच्याएर मात्र काम गर्नेछौं ।’ ओभरपास सञ्चालनमा आएको पाँच वर्षसम्म केही समस्या आए निर्माण कम्पनीले मर्मत सम्भार गर्ने उनले बताए । ‘पहिलो पटक ओभरपास निर्माण गरिएको हो,’ उनले भने, ‘हाम्रा लागि परीक्षण पनि हो, त्यसैले यो प्रभावकारी भए उपत्यकामा ट्राफिक जाम बढी हुने अन्य स्थानमा पनि बनाउन सकिन्छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ