06/17/2025, 14:28:24

वीरगञ्ज महानगरमा रातका समयमा नाली सरसफाइ अभियान


वीरगञ्ज (पर्सा), ३ असार : मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । वीरगञ्ज महानगरले सोमबार रातको समयमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणसँगै मुख्य नालीलाई एक्जाभेटरको सहयोगमा पनि सरसफाइ अभियान अघि सर्यो ।

वीरगञ्ज महानगर–१३ मुर्लीस्थित सडकसँगै जोडिएको नालीमा पनि रातकै समयमा श्रमिक खटाएर नाली सरसफाइ अभियानलाई अघि बढाइएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मनसुनको समयमा वीरगञ्जमा डुबानको समस्या देखिनसक्ने भन्दै घण्टाघरको हुलाक कार्यालयबाट भन्सार कार्यालयसम्म नाला सरसफाइको अभियानलाई तीव्रता दिएको बताउनुभयो । “महानगरले सरसफाइ अभियानलाई कुनै पनि हालतमा सम्झौता गरेको छैन”, उहाँले भन्नुभयो, “वैभव वीरगञ्ज अभियानलाई साकार पार्न पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिँदै आइरहेका छौँ ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले पनि वीरगञ्ज महानगरले पछिल्लो समय रातको समयमा पनि सरसफाइ अभियानलाई तीव्रता दिँदै आइरहेको बताउनुभयो । “एक दशकअघिको वीरगञ्ज र अहिलेको वीरगञ्जमा धेरै परिवर्तन देखिसकेको छ”, उहाँले भन्नुभयो, “हामीले भन्नुभन्दा पनि यहाँ घुम्न आउने सर्वसाधारणले वीरगञ्ज सरसफाइ भएको अनुभूति गर्दै आइरहनुभएको छ ।

अध्यक्ष खेतानले महानगरले दिनरात नभनी नाली सरसफाइ अभियान अघि बढाउँदै आइरहेको बताउनुभयो । “विगतमा मनसुनको समयमा यहाँका विभिन्न ठाउँमा डुबानको समस्या देखिन्थ्यो”, उहाँले भन्नुभयो, “सोही समस्या समाधानका लागि महानगरले दिनरात नभनी नाली सरसफाइ अभियान अघि सार्दै आइरहेको छ । यो कार्य निकै सराहनीय छ ।

महानगरले रातको समयमा पनि एक्जाभेटर, ट्रयाक्टरको सहायताले नाली सरसफाइ गर्दै आइरहेको छ । अर्काेतर्फ टोलतर्फको नाली भने मानव जनशक्ति प्रयोग गर्दै साना प्रकृतिको नाला सरसफाइ गर्दै आइरहेको छ । वीरगञ्ज महानगरको फोहरमैलाको व्यवस्थापनको जिम्मेवारी पाएको एनके इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले वर्षायाममा वीरगञ्जका नाली भरिएर सडकमै पानी छताछुल्ल हुने समस्यालाई न्यूनीकरण गर्न नाली सरसफाइ अभियान अघि सारिएको बताउनुभयो । महानगरभित्रको सम्पूर्ण फोहरमैला व्यवस्थापनको जिम्मेवारी सार्वजनिक–निजी साझेदारीअन्तर्गत एनके इन्टरप्राइजेजले पाएको छ ।

वीरगञ्ज महानगर–१३ का स्थानीय नैमाजुदिन अन्सारी सडक बनेको तीन वर्षमा मात्र नाली सरसफाइ गर्न थालिएको बताउनुभयो । “नालीमा विभिन्न खालका फोहर जम्मा भएर भरिएको थियो”, उहाँले भन्नुभयो, “महानगरले रातको समय पारेर नालीको ढकन खोलेर सरसफाइ अभियान सुरु गरेर राम्रोे कामको सुरुआत गरेको छ । यस्ता अभियानलाई निरन्तर अघि बढाउन जरुरी छ ।

वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरले पछिल्लो समय नाली सरसफाइ कार्यक्रमलाई विशेष महत्व दिँदै आइरहेको बताउनुभयो । “हामीले वर्षाैँपछि नाली सफाइ अभियानकै रूपमा अघि बढाउँदै आइरहेका छौँ, यसले वर्षायाममा हुनसक्ने डुबानलाई न्यूनीकरण गर्न सघाउ पुग्ने छ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ