06/16/2025, 14:49:06
पर्वतीय पर्यटनः हाम्रो शान हाम्र्रो पहिचान

रासस तस्बिर प्रदर्शनी यो साताभरि


काठमाडौँ, २ असारः गणतन्त्र दिवस–२०८२ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्र्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनीको समयावधि एक साता थप भएको छ ।

गत जेठ ११ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको प्रदर्शनीमा विभिन्न पक्षको अभिरुचि र मागका आधारमा आजदेखि सात दिनसम्म प्रदर्शनीको अवधि थपिएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिनुभयो ।

अवलोकनकर्ताको रुचि र मागलाई दृष्टिगत गर्दै प्रदर्शनीको प्रदर्शनीको असार ७ गतेसम्म समयावधि बढाइएको छ”, उहाँले भन्नुभयो, “तस्बिर प्रदर्शनी पत्रकारिता र पर्यटन क्षेत्रका विद्यार्थीका बीच पनि निकै लोकप्रिय भएको पाइयो । नीति निर्माण तहमा बसेका, पर्यटन व्यवसायी, विदेशी कूटनीतिक क्षेत्रका व्यक्तिहरुले पनि गहिरो अभिरुचि राखेकाले समयावधि थपिएको छ ।

कार्यकारी अध्यक्ष झाले प्रदर्शनीको उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धनका साथै नीतिनिर्माण तहका व्यक्तिको ध्यानाकर्षण र पर्वतीय सम्पदाहरु जोखिममा रहेकाबारे जनजागृति फैलाउने रहेको बताउनुभयो । यस बीचमा भएको प्रदर्शनी र अवलोकनकर्ताको प्रतिक्रिया र अभिरुचिबाट उद्देश्यमा सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

रासस तस्बिर प्रदर्शनीको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, प्रधानसेनापति, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, पर्यटन व्यवसायी, प्रतिष्ठित आरोही, विद्यार्थी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि एवं सर्वसाधरणले अवलोकन गरिसक्नुभएको छ ।

भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका ९६ वटा तस्बिर समेटिएका छन् ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले व्यहोर्नुपरेका समस्याप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपाल सरकारद्वारा हालै सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रमलाई जोडेर रासस समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमाल, पर्वत तथा पर्यटकीयस्थलसम्बन्धी तस्बिर प्रदर्शनीमा समावेश छन् ।

ग्राहकको मागलाई दृष्टिगत गरी राससले आफ्ना उत्पादनमा विविधता थपिरहेको सन्दर्भमा प्रदर्शनीले राससका समाचार र तस्बिरलाई अझ समृद्ध बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । राससले गत वर्ष भौतिक पूर्वाधार निर्माण र त्यसअघि मुलुकको सांस्कृतिक विविधतासम्बन्धी प्रदर्शनी गरेको थियो ।

जलवायु परिवर्तनबाट मानव सभ्यतामा आएको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ आवाज उठाइरहेका अवस्थामा हिमालको संरक्षणका लागि बहस र पैरवी गर्न प्रदर्शनीबाट योगदान पुग्नेमा रासस विश्वस्त रहेको जनाइएको छ ।

नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खलाको प्रवर्द्धनबाट आर्थिक आयआर्जनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमशिखरमध्ये सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरि हिमशृङ्खला नेपालमा छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ