काठमाडौँ, १ असारः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिनुभएको छ ।
मन्त्री डा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिनुभएको छ ।
हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपालीहरु रहेको र उहाँहरु सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले नेपाली राजदूतावास, तेल अभिभमा नियोग उप-प्रमुख/प्रवक्ता कुमारबहादुर श्रेष्ठलाई फोन नं +९७२–५३५३६०७४८, ०३५१००१११ र इ-मेलः nepalembassy@012.net.il र नेपाली राजदूतावास, दोहामा मिनिष्टर काउन्सेलर÷नियोग उप-प्रमुख कुमार राईलाई फोन नं +९७४-५५६१६०४०, +९७४-४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ र इ-मेलः eondoha@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ ।