मकवानपुर, ३१ जेठ : बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८१/८२ को प्रस्ताव पेस गर्नुभएको छ ।
बैठकमा प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेकोे विधेयक २०८१ लाई दफावर छलफलका लागि प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्नुभयो ।
सोही बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्य, सार्वजनिक लेखा समितिका सभापति राम लामिछाने, शिक्षा स्वास्थ्यतथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल, उद्योग, पर्यटन, तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले क्रमशः छुट्टाछुट्टै समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यहरुले शून्य समयमा आफ्ना धारणा राख्दै प्रदेश सरकारले विपद् व्यवस्थापनलाई सहजीकरण गरी तत्काल बाढीपीडित परिवारलाई पुनःवास, उद्धार, स्वास्थ्य उपचार तिव्रताका साथ अघि बढाउन सुझाव दिनुभयो । उहाँहरुले कृषि धान उत्पादनका लागि कृषकलाई मलखाद अपरिहार्य भएको हुँदा प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरेर प्रदेशका लागि आवश्यक मलखाद उपलब्ध गराउनेतर्फ अग्रसरता लिनुपर्ने माग गर्नुभयो ।
उहाँहरुले गुणस्तरीय शिक्षा अध्ययनका लागि प्रदेश सरकारले विज्ञान, अङ्ग्रेजी, गणित र अर्थशास्त्रका शिक्षक दरबन्दीको पदस्थापन गर्ने र प्रदेशका सबै विद्यालयहरुमा एक नर्सको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नुभयो ।
शून्य समयको छलफलका क्रममा प्रदेशसभा सदस्यहरु क्रमशः आशा लामा, कृष्णकुमार तामाङ, उर्मिला सुनुवार, युवराज चौलागाईँ, गोविन्द लम्साल, नुरज बज्राचार्य, मातृका भट्टराई, प्रभात तामाङ, दुर्गादेवी श्रेष्ठ, रमेशकुमार महत, लक्ष्मण लम्साल, रामकृष्ण चित्रकार र भारती पाठक सहभागी हुनुहुन्थ्यो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको थियो ।