07/12/2025, 18:27:39

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, ३० जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताउनुभएको छ ।

बालश्रमविरुद्ध विश्व दिवसका सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए)द्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ । मलाई गाह्रो हुन्छ । म उनीहरु सधैँ मुस्कुराइरहुन् भन्ने चाहन्छु । सामन्ती व्यवस्थाको शोषणका समयमा यसरी आज जस्तो बालबालिकाले आफ्ना कुरा र अधिकारबारे बोल्न तथा शासकहरुलाई सुनाउन पाउँदैनथे । आज म प्रधानमन्त्रीका रुपमा बालबालिकाका कुरा सुनिरहेको छु ।

बालबालिकाका समस्याका कुरा सुनेपछि भावुक हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा कुनै पनि बालबालिका सडकमा वा बालश्रममा पर्न बाध्य हुनुहुँदैन । उनीहरुले स्नेहपूर्ण जीवन पाउनुपर्छ । हामीले सडक बालबालिका मुक्त अभियान सञ्चालन गरेका छौँ, सिङ्गो मुलुकको आर्थिक–सामाजिक रूपान्तरणसँगै बालबालिकाको समग्र हितका लागि हाम्रा प्रयासहरु जारी रहनेछन् ।

आफूूले जीवनमा बालबालिकालाई जिस्किएर पनि नपिटेको र एक शब्द पनि गाली नगरेको उल्लेख गर्दै उनीहरुको आफ्नो कारणले कहिले पनि बालबालिकालाई रुवाउन नचाहने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

मैले विभिन्न ठाउँका बालबालिकालाई अभिभावकत्व लिएर पढाएको छु । देशभरका बालबालिकालाई स्नेहमय जीवन कसरी दिन सकिन्छ भन्नेमा हामी लागिपरेका छौँ । सिङ्गै देशको आर्थिक र सामाजिक अवस्था सुधारमा सरकार लागिरहेको छ । पक्कै पनि हामी स्थितिमा फरक ल्याउँछौँ”, उहाँले भन्नुभयो, “बालश्रममा परेका बालबालिकालाई त्यहाँबाट हटाएर राम्रो व्यवस्था गरिदिन सक्नुपर्छ ।

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा विभिन्न स्थलमा रहेका १९ बालबालिकाका तर्फबाट बालश्रमका समस्या र समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई सामूूहिक रुपमा चिठी बुझाएका थिए ।

कार्यक्रममा एनसिपिएका पूर्वअध्यक्ष विमला ज्ञवालीले बालश्रम अन्त्यका लागि विद्यमान कानुनी व्यवस्थामा संशोधन हुनुपर्ने बताउनुभयो । राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसिजी–नेपाल) का सहअध्यक्ष नरेन्द्र डङ्गोलले बालबालिकामाथिको सबै प्रकारको हिंसा अन्त्यका लागि सरकार र सामाजिक क्षेत्रबाट पहल हुनुपर्नेमा जोड दिनुभयो ।