06/13/2025, 09:37:48

ठाउँठाउँमा वर्षा : तापक्रम क्रमशः घट्दै


काठमाडौँ, २९ जेठः मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताउनुभयो । पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि उहाँले जानकारी दिनुभयो । मौसमविद् लामिछानेले पछिल्लो केही घण्टामा काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिनुभयो । यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने छ । जसकारण हिजोआजको भन्दा बिहीबार र शुक्रबारको तापक्रममा गिरावट आउने पनि उहाँले बताउनुभयो ।

ठूलो र देशैभरि एकैनासको वर्षा गराउने प्रणाली भने नभएको पनि महाशाखाले जनाएको छ, तर पनि दिउँसोको समयमा भने गर्मी नै महसुस हुने जनाइएको छ ।

महाशाखाले बुधबार साँझ सूचनामार्फत भनेको छ, “यो सूचना जारी गर्नुभन्दा तीन घण्टादेखि कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम र एक–दुई स्थानमा भारी वर्षा मापन भएको छ । सो वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेकाले आसपासका क्षेत्रमा समेत मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा समेत हल्का वर्षा भएको र बाँकी स्थानहरुमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

मनसुनको अवस्था

हाल मनसुन जेठ १५ गतेकै अवस्थामा कोशी प्रदर्शनबाट अन्यत्र नफैलिएको बताउँदै लामिछानेले महाशाखाले अनुगमन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मनसुनका लागि अनुकूल वातावरण बन्दै गएको छ, केही दिनमा नयाँ परिणाम निस्किन्छ होला, सबै मापदण्ड पूरा भएपछि महाशाखाले बुलेटिनमार्फत जानकारी दिनेछ ।

मनसुन भित्रिने सरदर मिति (जुन १३) आउन अब दुई दिन बाँकी छ । यसपालि यो मिति आउनुभन्दा १५ दिनअघि नै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र पछि पूर्वी एसिया फर्किएको जनाइएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ