06/12/2025, 17:38:41

पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ब्रान्डिङ आवश्यक छ : सांसद झा


काठमाडौँ, २८ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ‘ब्रान्डिङ’ को आवश्यकता औँल्याउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उहाँले प्रदर्शनी मनोरञ्जनात्मक, सन्देशमूलक र देश चिन्ने अवसर भएको प्रतिक्रिया समेत दिनुभयो ।

हामीलाई ‘स्ट्राटेजिक ब्रान्डिङ’ चाहिएको छ । देशलाई अस्तित्वको परिभाषा चाहिएको छ, प्रकृति परिभाषा हो, हाम्रो परिभाषालाई विश्वसामु प्रवर्द्धन गर्नुपर्छ । प्रवर्द्धनको एउटा पाटो यो फोटो प्रदर्शनी पनि हो”, उहाँले भन्नुभयो ।

सांसद झाले पर्वतीय भूभागलाई सदुपयोग गर्दै आर्थिक उपार्जन गर्नका लागि ती क्षेत्रहरुमा भौतिक संरचनाको निर्माणमा समेत जोड दिनुभयो । उहाँले यी क्षेत्रहरूको संरक्षण गर्दै बजारीकरण गर्न सक्नुपर्ने बताउनुभयो ।

भौतिक संरचना नबनाएसम्म बजारीकरण गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “प्रकृतिले पनि कति थेग्छ भन्ने क्षमता हुन्छ । त्यसलाई मध्यनजर गर्दै भौतिक संरचना बनाएर त्यसबाट आर्थिक रूपमा लाभ लिन सक्नुपर्छ ।

यसैबीच रास्वपाका सांसद एवं नेत्री लक्ष्मी तिवारीले पनि राससद्वारा आयोजित यस प्रदर्शनीको अवलोकन गर्नुभयो । उहाँले प्रदर्शनी सान्दर्भिक र भौगोलिक रूपमा समावेशी रहेको बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ