06/12/2025, 17:27:42

प्राकृतिक सम्पदालाई मुलुकको हितमा प्रयोग गर्न सक्नुपर्छ : अर्थमन्त्री पौडेल


काठमाडौँ, २८ जेठ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्राकृतिक सम्पदाहरूको अधिकतम प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटन : हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन पछि प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले नेपाल प्राकृतिक स्रोत साधनमा धनी रहेको र यसको प्रयोगमार्फत लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्राकृतिक सम्पदाका दृष्टिकोणले सम्पन्न छ । हिमाल, वनजङ्गल, दुर्लभ वन्यजन्तु, वनस्पतिलगायत हरेक हिसाबले नेपाल सुन्दर छ । सांस्कृतिक रूपमा पनि हामी उत्तिकै सम्पन्न र समृद्ध छौँ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “हामीलाई प्रकृतिले दिएको वरदानलाई मुलुकको आर्थिक उन्नति र समृद्धिका लागि सदुपयोग गर्नुपर्नेछ ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा प्रस्तुत भएको बजेट कार्यान्वयन कसरी हुन्छ ? भन्ने राससको प्रश्नमा अर्थमन्त्री पौडेलले विद्यमान अवस्था र वस्तुस्थितिलाई सही ढङ्गले आकलन गरेर बजेट आएको उल्लेख गर्नुहुँदै कार्यान्वयन पनि प्रभावकारी रूपमा दाबी गर्नुभयो । “आगामी आर्थिक वर्षको बजेट हाम्रो धरातलीय यथार्थभित्र रहेर ल्याइएको छ । हाम्रो स्रोत र खर्चको अनुमान यथार्थपरक छन् । अहिले पुँजीगत खर्चको न्यूनतालाई कसरी हटाउने भन्ने मुख्य चुनौती हो”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “बजेट संसद्मा प्रस्तुत भएलगत्तै कार्यान्वयन गर्न सकिनेगरी प्रबन्ध गरिएको छ । यसअर्थमा आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।

तस्बिर अवलोकनमा अर्थमन्त्री पौडेललाई स्वागत गर्नुहुँदै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले देशका विभिन्न स्थानमा रहेका हिमाल तथा हिमाली पर्यटकीयस्थल, हिमाली जनजीवन बुझाउने प्रमुख उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

यही जेठ ११ गतेदेखि सुरू भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली क्षेत्रको जनजीवन र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ