काठमाडौँ, २६ जेठ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अघिकारीले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान तथा त्यस्ता गन्तव्यको प्रचार प्रसार गर्नसके नेपालमा आउने पर्यटकको बसाइँ लम्बाउन सकिने बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रर्दशनी अवलोकनपछि उहाँले नेपालका प्राकृतिक पर्यटकीय गन्तव्य र सांस्कृतिक धरोहरहरूको पर्याप्त प्रचारप्रसार हुन नसकेको बताउनुभयो । “पर्यटन हाम्रो अर्थतन्त्रको मुख्य आधार बन्न सक्ने सम्भावना भएको क्षेत्र हो । यद्यपि हामीले नेपालमा आउने पर्यटकको बसाइँ लम्बाउने र उनीहरूको खर्च बढाउने कुरालाई ध्यान दिन सक्नुपर्नेछ”, प्राडा अधिकारीले भन्नुभयो ।
हिमाली पर्यटन तथा पर्यापर्यटन मात्र नभई नेपालका रैथाने रहनसहन, रैथाने स्वाद तथा परिकार, धर्म संस्कृतिबाट पनि पर्यटक भित्र्याउन सकिनेमा उहाँले जोड दिनुभयो । नीति निर्माण तहमा पर्यटन क्षेत्र प्राथमिकतामा परेको र त्यसबाट लाभ लिन सक्नुपर्छ भनेर सरकारले विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको पनि अधिकारीले उल्लेख गर्नुभयो ।
उहाँले रासस तस्बिर प्रदर्शनीमा प्रचारप्रसार नभएका र ओझेलमा रहेका पर्यटकीयस्थल पनि समावेश हुँदा आन्तरिक र बाह्य दुवै पर्यटकलाई ती क्षेत्रबारे जानकारी लिन योगदान पुग्ने बताउनुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले हिमाल, हिमाली जनजीवन, पर्यापर्यटनजस्ता विविध पक्षको महत्व र यसको सौन्दर्यता उजागर गर्ने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले देशका विभिन्न स्थानमा छरिएर रहेका पर्यटकीयस्थलसँगै त्यहाँ भएका पूर्वाधार विकास तथा जनजीवन बुझ्न प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली क्षेत्रको जनजीवन र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।