काठमाडौँ, २६ जेठ : एक दर्जनभन्दा धेरै ग्रामी अवार्ड विजेता, चर्चित अमेरिकी र्यापर एमिनेमले प्रविधि कम्पनी, मेटाविरुद्ध मुद्दा दायर गरेका छन् । मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता प्लाटफर्ममा अनुमतिबेगर आफ्ना गीतहरू प्रयोग गरेको भन्दै एमिनेमले १० करोड ९० लाख डलरभन्दा बढी क्षतिपूर्तिको माग दाबीसहित मुद्दा हालेका हुन् ।
एमिनेमको म्युजिक पब्लिसिङ कम्पनी ‘एट माइल स्टाइल’ले मे ३० मा अमेरिकी अदालतमा दायर गरेको मुद्दामा मेटाले यी र्यापरका २ सय ४३ वटा गीत अवैध रूपमा प्रयोग गरेको आरोप लगाइएको छ । मुद्दामा उल्लेख भएअनुसार मेटाले आफ्नो ‘म्युजिक लाइब्रेरी’ मार्फत ती गीतहरू प्रयोगकर्तालाई उपलब्ध गराउने गरेको छ । त्यसलाई ‘ओरिजिनल अडियो’ र ‘रिल्स रिमिक्स’जस्ता फिचर प्रयोग गरी लाखौं भिडियोहरूमा प्रयोग गरिएका छन् ।
एमिनेमको कम्पनीले एक गीत, एक प्लाटफर्म बराबर १ लाख ५० हजार डलरसम्मको क्षतिपूर्ति माग गरेको छ । यसको कुल रकम १० करोड ९३ लाख ५० हजार अमेरिकी डलर पुग्ने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘हामीले अनुमति नदिएका गीतहरू पनि मेटाले स्टोर, पुनःप्रयोग र व्यावसायिक उपयोग गरी प्रतिलिपि अधिकारको उल्लंघन गरेको छ,’ मुद्दामा भनिएको छ ।
आफूहरूले यसअघि पनि गुनासो गरेको र त्यो बेला मेटाले केही गीतहरू हटाएको भए पनि अझै अवैध रूपमा गीतहरू भण्डारण र प्रयोग भरिरहेको एमिनेम र एट माइल स्टाइलको आरोप छ । मेटाले भने संगीत साझेदारहरूसँग सम्झौता गरेरै गीत प्रयोग गरेको जनाएको छ । ‘हामीले एट माइल स्टाइलसँग इमान्दारितापूर्वक वार्ता गरिरहेका थियौँ, तर उनीहरूले वार्ता छाडेर मुद्दा दायर गर्ने बाटो रोजे,’ मेटाका प्रवक्ताले द इन्डिपेन्डेन्टसँगको कुराकानीमा भनेका छन् । एट माइल स्टाइलले भने आर्थिक क्षतिपूर्ति र जुरी ट्रायलको पनि माग गरेको छ ।