06/09/2025, 00:04:04

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी


झापा, २५ जेठः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताउनुभएको छ ।

नारी सञ्चार गृह झापाद्वारा आज विर्तामोडमा आयोजित अक्षयकोष घोषणा, पुस्तक विमोचन र दाता सम्मान कार्यकमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिले आमसञ्चार जगतमा महिला सहभागिता क्रमशः विस्तार हुँदै आए पनि सङ्ख्यात्मक दृष्टिले महिलाको उपस्थिति अझै न्यून रहेको बताउनुभयो । उहाँले समाचार सम्पादन, निर्णय र नीतिनिर्माणको तहमा महिलाको पहुँच र भूमिका सीमित रहेकामा चिन्ता व्यक्त गर्दै सञ्चारमाध्यमको नेतृत्व तहमा पनि यो सङ्ख्या न्यून रहेको बताउनुभयो ।

जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलासँग सम्बन्धित विषय सञ्चारमाध्यममा प्रभावकारी रूपमा उठाउन महिला पत्रकारको भूमिका महत्त्वपूर्ण रहने उहाँको भनाइ थियो ।

महिला आफैँले प्रत्यक्ष रूपमा अनुभव गरेका, नजिकबाट देखेका र जीवनका विभिन्न चरणमा भोगेका मुद्दामा महिला पत्रकारद्वारा नै तयार गरिने सामग्रीमा थप सम्वेदनशीलता, आफ्नो पहिचान र यथार्थ समेटिएको हुन्छ”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।

चुनौतिपूर्ण परिवेशका बावजुद पनि महिला पत्रकारले देखाएको पेशागत दृढता, आत्मबल तथा सामाजिक परिवर्तनप्रतिको लगाव र प्रतिवद्धता प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले सोही अवसरमा नारी सञ्चार गृह झापाको अक्षयकोषमा सहयोग पुरÞ्याउनु हुने दातालाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै सो संस्थाद्वारा प्रकाशित ‘सञ्चारमा नारी’ पुस्तकको विमोचन समेत गर्नुभयो ।

पत्रकार महिलाको साझा संस्था नारी सञ्चार गृहले आफ्नो अक्षयकोषमा रु ५० लाख पुरÞ्याएको अध्यक्ष रेजिना गौतमले जानकारी दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ