06/06/2025, 10:59:19

संसारलाई हिमाल देखाउन र महत्व बुझाउन सक्नुपर्छ : रास्वपा कार्यवाहक अध्यक्ष अर्याल


काठमाडौँ, २१ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले नेपालका हिमालको सुन्दरता र महत्वबारे संसारलाई देखाउन र बुझाउन सरकार र पर्यटन व्यवसायीबीच परिणामुखी सहयोग, समन्वय र सहकार्य आवश्यकता रहेको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै विश्वभरका पर्यटकले जीवनमा एक पटक हेर्न र पुग्न पाए हुन्थ्यो भन्ने स्थान र सम्पदालाई राससले तस्बिरमार्फत चिनाउने प्रयास गरेको बताउनुभयो ।

कार्यवाहक अध्यक्ष अर्यालले भन्नुभयो, “नेपालका यस्ता अमूल्य निधिलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउने जिम्मा पर्यटन बोर्डको भएकाले उसले अलि बढी चासो दिएर प्रचारप्रसार गर्नुपर्छ । कार्यवाहक अध्यक्ष अर्यालले भन्नुभयो, “आँखाले त हिमाल सुन्दर देखिने भइहाल्यो, हाम्रा प्राकृतिक सम्पदालाई संसारलाई देखाउन पर्यटन व्यवसायका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका बीच समन्वय र सहकार्य आवश्यक छ ।”

देशका नीति निर्माण तहमा रहेकालाई प्रदर्शनीको अवलोकन गराएर पर्यटन प्रबद्र्धन अभियानलाई सार्थक तुल्याउन राससलाई सुझाव दिँदै उहाँे भन्नुभयो, “हाम्रा हिमाल, पहाड र तराईका आआफ्नै खाले विशेषता र महत्व छन् । देशको आयआर्जनमा सम्भावना रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिई पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने दायित्व हामी सबैको हो । पर्वतीय पर्यटन प्रबद्धनमा सहयोग पु¥याउने उद्देश्यले गरिएको तस्बिर प्रदशनीका राससलाई धन्यवाद छ ।

सोही पार्टीका सांसद हरि ढकालले प्रकृतिको उपहारमध्ये विशाल हिमाल पर्वतशृङ्खला भएकाले नेपाललाई ज्ञान भूमि र तपोभूमि भनिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामीलाई प्राप्त प्रकृतिको उपहारमध्ये उच्च पर्वतीय विरासत एकदमै रोचक छ, यसले संसारभरका सहासिक पर्यटकको आशा र भविष्यको विरासत बोकेको छ, यसलाई जोगाउँदै लाभान्वित हुनु सक्नुपर्दछ ।

विश्व तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको उल्लेख गर्दै सांसद ढकालले प्रदर्शनीमा राखिएका हिमालसम्बन्धी तस्बिर अवलोकनबाट आनन्दित मात्र नभई ‘क्लिक’ गराउने काम समेत भएको प्रतिक्रिया दिनुभयो ।

गणतन्त्र दिवसका उपलक्ष्यमा रासस केन्द्रीय कार्यालयमा राखिएको तस्बिर प्रदर्शनी अवलोकनका क्रममा आज उहाँहरू आउनुभएको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ