06/04/2025, 12:18:35

जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु


झापा, १९ जेठ : ‘रुखहरुको जीवित संग्रहालय’ मानिएको दक्षिण झापाको जैविक विविधताले भरिपूर्ण जलथल जङ्गलका दुर्लभ वनस्पति र जीवहरु लोप हुने खतरामा पुगेका छन् ।

हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकबल गाउँपालिका र बाह्रदशी गाउँपालिकाको छ हजार १०० हेक्टर क्षेत्रफलको यस जङ्गलमा लटहर, थाकल, भोटे लहराजस्ता दुर्लभ वनस्पतिको अस्तित्व सङ्कटमा छन् । यहाँ संसारकै सानो आकारको ‘मुसे मृग’समेत पाइएको थियो ।

नेपालमा ६०० भन्दा बढी प्रजातिका रुखहरु पाइन्छन् । जसमध्ये १५५ वटा अर्थात एक चौथाइ प्रजातिका रुखहरु जलथलमा रहेको फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता डा लिलानाथ शर्माले बताउनुभयो । धेरै प्रजातिको रुख पाइएकाले यस जङ्गललाई “रुखहरुको राजधानी” पनि भनिन्छ ।

समुन्द्र सतहबाट ७० देखि १०० मिटरसम्म उचाइमा रहेको जलथल जङ्गलमा २३५ प्रजातिका चरा, १५७ प्रजातिका पुतली, ४३ प्रजातिका माछा, १४ प्रकारका भ्यागुता र ३२ प्रजातिका सरिसृप अध्ययनका क्रममा भेटिएका छन् ।

नेपालको वन क्षेत्रमा जलथलले ०.१ प्रतिशत मात्र अंश ओगटेको छ । यति थोरै भूगोलमा यति धेरै जैविक विविधता विश्वमा अन्यत्र पाउन नसकिने उहाँ बताउनुहुन्छ । जसमध्ये नेपालमा हालसम्म अभिलेख नगरिएका छ प्रकारका रुखका प्रजाति र तीन प्रकारका साना वनस्पति यहाँ पाइएको उहाँले बताउनुभयो ।

दुई तीन वर्ष जति भयो कसैले पनि जङ्गलमा मुसे मृग देखेको बताएका छैनन्,” उहाँ भन्नुहुन्छ, “सम्भवतः यो सानो सुन्दर जनावरको अस्तित्व जलथलबाट लोप भइसकेको हुनसक्छ ।

अरु प्रकारका मृगभन्दा ज्यादै सानो हुने भएकाले यस प्रजातिलाई मुसे मृग भनिएको हो । रुखबाट झरेर ठूला पातहरु र झाडीमा लुक्ने लजालु स्वाभावको यो मृग चोरी शिकारी र घरपालुवा कुकुरको प्रवेशले जङ्गलबाट लोप भएको अनुमान छ ।

नेपालमै ‘लटहर’को जङ्गल जलथलमा मात्र पाइएको छ । कटहरको जस्तै हाँगा र ३० मिटरसम्म अग्लो रुख हुने लटहर फल फल्ने दुर्लभ रुख हो । कोशी पूर्व कहिँकतै एक दुई वटा यसका रुख देखिएको भए तापनि जलथलमा यसको जङ्गल नै भन्न सकिने गरी रुखहरु रहेको अनुसन्धानकर्ता डा. शर्माको भनाइ छ ।

जलवायू परिवर्तन र मिचाहा झारको प्रकोपका कारण लटहरको पुनरुत्थान हुन नसक्नु खतराको संकेत हो,” विगत छ वर्षदेखि जलथल जङ्गलको अध्ययन गरिरहनुभएका उहाँ भन्नुहुन्छ, “घाँस र दाउरा काट्ने क्रमले भएका रुखको अस्तित्व जोखिममा परिसकेको छ ।

नयाँ लाथ्रा नहुर्किने र भएका रुखहरु मासिने क्रमले जलथलमा लटहरको जङ्गल थियो भनेर एकादेशको कथा सुनाउने दिन भविष्यमा नआउला भन्न नसकिने उहाँले बताउनुभयो । पहाडमा मात्र पाइने ठानिएको उत्तिस, टिमुर, भोटे लहरा लगायतका वनस्पति यहाँ पाइन्छ ।

भोटे लहरा र थाकल अति दुर्लभ वनस्पति हुन् । डा शर्माका अनुसार जीव र वनस्पतिको उद्भवकालमा दुवै गुण लिएर सेतुको रुपमा विकास भएको वनस्पतिमा थाकल पर्दछ । यी वनस्पति डाइनोसरकालदेखि हालसम्म अस्तित्वमा रहेको मानिन्छ । उन्यूको जस्तो पात र कोणधारीको जस्तो बीउ हुने यो वनस्पतिलाई विश्व संरक्षण सङ्घ (आइयुसीएन)ले सङ्कटापन्न सूचीमा राखेको छ ।

जङ्गलमा मानव अतिक्रमण बढ्दै जाँदा थाकलको टुप्पो काटिदिने, पातलाई घाँसको रूपमा खुवाउने र मिचाहा झार माइकेनियाले नयाँ विरुवा हुर्किन नदिने समस्या देखिएको छ । नेपालमै हालसम्म सबैभन्दा मोटो भोटे लहरा जलथलमा भेटिएको उहाँले बताउनुभयो ।

सालक, लाम्चे कछुवा र हात्ती अति सङ्कटापन्न सूचीमा सूचीकृत भइसकेका जीव हुन् । प्राकृतिक बासस्थानको रूपमा रहेको जङ्गल र सिमसार मासिने क्रम बढेकाले यी जीवहरु लोपोन्मूख अवस्थाबाट गुज्रिरहेका छन् ।

दुर्लभ मानिएका बाँदरझुला, ढेडु झुला, रामगुवा, कुसुम, वन सुन्तला, गान्टे, वन फर्सीलगायतका फलफूल जलथलमा पाइएका छन् । प्राकृतिक जङ्गल क्षेत्रमै सामुदायिक वनले टिक, मसला, रबरजस्ता रुखहरु हुर्काउने गर्नाले रैथाने जीव र प्राकृतिक वनस्पति प्रभावित बनेका छन् ।

जलथल जङ्गल भित्र २२ वटा सामुदायिक वन छन् । काठ तथा वनयजन्तुको चोरी शिकारी, मानव अतिक्रमण, वन व्यवस्थापनका कमजोरी र ग्रामीण बासिन्दामा पर्यावरणीय चेतनाको कमी नै यहाँका दुर्लभ जीव तथा वनस्पति लोप हुने प्रमुख कारण हुन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ