06/01/2025, 03:22:37

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका महत्त्वपूर्ण’


काठमाडौँ, १६ जेठ : प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले स्थानीय सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा मिडिया र सङ्घसंस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

मिसन मिडिया क्लबद्वारा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडिया, सङ्घसंस्थाको भूमिका’ विषयक छलफलमा उहाँले यहाँका मूर्त वा अमूर्त सम्पदासँगै विविधासहितको संस्कृति, रितिरिवाज आफँैमा बहुआयामिक रहको बताउनुभयो ।

त्यस अर्थमा सबै किसिमका सम्पदाका अर्थात मौलिक संस्कृति, कला, साहित्य, भाषा र संस्कृतिको संरक्षणमा सहकार्यसहितको पुस्तान्तरण आवश्यक रहेको उहाँको भनाइ थियो । सो अवसरमा क्लबले आयोजना गरेको सात दिने उद्घोषण तालिमका प्रशिक्षार्थीहरुलाई उहाँले प्रमाणपत्र वितरण गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले सम्पदा संरक्षणमा संस्थागत चासो देखाउँदै मिसन मिडिया क्लबको पहलकदमी सकारात्मक रहको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका अन्तर्गत हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको सहकार्य तथा महानगर–१९ र विपद् पत्रकारिता सञ्जालको समन्वयनमा आयोजित उक्त कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले सञ्चार सम्वद्ध संस्थाले स्थानीय सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनका लागि लिएको चासो अर्थपूर्ण रहेको बताउनुभयो ।

क्लबका अध्यक्ष श्रीजन झाले सम्पदा हाम्रो पहिचान र पर्यटन सम्भावना भएको जिकिर गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ