06/01/2025, 02:54:48

राससको तस्बिर प्रदर्शनीले नेपालका पर्यटकीय गन्तव्यको भ्रमण गर्न प्रेरित ग-यो : भारतीय राजदूत श्रीवास्तव


काठमाडौँ, १६ जेठः नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय समाचार समिति (रासस) को तस्बिर प्रदर्शनीले नेपालका पर्यटकीय गन्तव्यहरुको भ्रमण गर्न आफूलाई प्रेरित गरेको बताउनुभएको छ ।

गणतन्त्र दिवस २०८२’ का अवसरमा राससले केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै राजदूत श्रीवास्तवले प्रदर्शित तस्बिरमा कुनै–कुनै स्थान आफूले घुमेको र प्रदर्शनी हेरिसकेपछि नेपालका अन्य भूभाग पनि घुम्न प्रेरित गरेको बताउनुभयो ।

हिमाल र साहसिक गन्तव्यबारे गरिएको फोटो प्रदर्शनी धेरै महत्वपूर्ण छ,” राजदूत श्रीवास्तवले भन्नुभयो, “तस्बिरमध्ये केही–केही ठाउँहरु मैले घुमेको छु । यी तस्बिरले मलाई अझ नेपाल घुम्न प्रेरित ग¥यो ।” भारतीय राजदूत श्रीवास्तवले नेपालका हिमालहरु (सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल) समेटिएको तस्बिर प्रदर्शनी अत्यन्तै महत्वपूर्ण रहेको पनि बताउनुभयो । उहाँले तस्बिर प्रदर्शनीको माध्यमका आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत श्रीवास्तवले आफ्नो पहिलो पटक रासस भ्रमण भएको र यहाँ आएर फोटो प्रदर्शनीसहित राससको विविध सेवाबारे जानकारी लिन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मेरो पहिलो पटक राससको भ्रमण हो, महत्वपूर्ण प्रदर्शनीले पर्यटकलाई प्रोत्साहित गर्छ ।

राजदूत श्रीवास्तवले रासस नेपालको स्थापित समाचार संस्था भएको उल्लेख गर्दै नेपालले भारतको पिटिआई, एएनआई लगायत विश्वका अन्य समाचार संस्थासँगको सहकार्यलाई अझ बलियो बनाएर लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले दुई देशका सरकारी समाचार संस्थाहरुको सम्बन्ध बलियो बनाउँदै पत्रकारहरुबीचको सहकार्यलाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । त्यसअघि राजदूत श्रीवास्तवलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, प्रधानसम्पादक उत्तम सिल्वाल लगायत राससकर्मीले स्वागत गर्नुभएको थियो ।

कार्यकारी अध्यक्ष झाले प्रदर्शित तस्बिरहरुको सङ्क्षिप्त रुपमा व्याख्या गर्नुभएको थियो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल, प्रसिद्ध हिमाली क्षेत्र र साहसिक गन्तव्यलाई समेटेर रासस केन्द्रीय कार्यालयमा यही जेठ ११ गतेदेखि तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।

राससका कार्यकारी अध्यक्ष झाले रासस कार्यालयमा आएर तस्बिरहरुको प्रदर्शनी अवलोकन गरेकामा राजदूत श्रीवास्तवलाई धन्यवादज्ञापन गर्नुभयो । उहाँले राससको विस्तारित समाचार सेवा, मिडिया सङ्ग्रहालय, समाचार कक्ष तथा पुस्तकालयको व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक सहकार्यबारे पनि राजदूतसँग कुराकानी गर्नुभएको थियो ।

अध्यक्ष झालेसमाचार उत्पादनसँगै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राससले देशका हिमाल–पर्वतलाई राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गर्न तथा समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ