05/31/2025, 15:09:29
बजेट : कञ्चनपुर

बजेट : कञ्चनपुरमा आठ आयोजनालाई बजेटमा प्राथमिकता

पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न शुक्लाफाँटा–खप्तड पदयात्रा सञ्चालन गरिने, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको कार्यलाई अगाडि बढाइने, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको कार्यसँगै महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नति गरिने


कञ्चनपुर, १६ जेठ : कञ्चनपुरमा सातवटा आयोजनाका लागि बजेट सुनिश्चित भई कार्य अगाडि बढ्ने भएको छ । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा सातवटा आयोजनालाई प्राथमिकतमा राखेर बजेट विनियोजन गर्नुभयो ।

प्रस्तुत बजेटअनुसार निजी तथा पर्यटन बोर्डको सहकार्यमा दैजी–छेला औद्योगिक क्षेत्र निर्माणकार्य अगाडि बढाइने भएको छ । पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न शुक्लाफाँटा–खप्तड पदयात्रा सञ्चालन गरिने, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको कार्यलाई अगाडि बढाइने, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको कार्यसँगै महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नति गरिने भएको छ ।

पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिका लागि रु २१ अर्ब १९ करोड विनियोजन गरिएको छ । कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङलगायत थारू समुदायमा गम्भीर स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनेमिया रोगको निदान तथा उपचारका लागि नवीनतम प्रविधि अवलम्बन गरिने भएको छ ।

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य तीन वर्षभित्र पूरा गरिने भएको छ । सडकखण्डको स्तरोन्नतिको कार्य अगामी आवदेखि सञ्चालन गरिने भएको छ । बजेटमा भूमिसम्बन्धी कानुन संशोधन गरी भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका समस्या समाधान स्थायी रूपमा गरिने भएको छ ।

आगामी आर्थिक वर्षभित्र लगत सङ्कलन र प्रमाणीकरण गरी पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा उपलब्ध गराइने छ । यसका लागि स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिइने बजेट वक्तव्यमा भनिएको छ । कञ्चनपुरमा भूमि आयोगमा पदाधिकारीको पदपूर्ति गरी जग्गा नापजाँचको काम भइरहेको छ । दोधारा–बरेली ४०० केभी क्षमताको राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइनको निर्माण अगाडि बढाइने छ ।

कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग दुई वर्षभित्रै निर्माण पूरा गरिसक्ने गरी बजेट विनियोजन गरिएको छ । बजेटबारे प्रतिक्रिया दिँदै पूर्वसंविधानसभा सदस्य कृपाराम रानाले संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेट सन्तुलित रूपमा आएको बताउनुभयो । “बजेट नै एक्सन ओरेन्टेड छ”, उहाँले भन्नुभयो, “विगतमा नीतिगत रूपमा मात्र बजेट आउँथ्यो, काम अगाडि बढ्दैनथे, अहिलेको बजेट कार्यान्वयन हुनेमा विश्वस्त छु ।

दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि बढ्नुपर्ने उल्लेख गर्नुहँुदै उहाँले औद्योगिक क्षेत्रको काम ढिलो नगरी छिटो अगाडि बढ्नुपर्छ, बजेटमा सम्बोधन भएकाले काम अगाडि बढ्ने विश्वास रहेको बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक तथा व्यवस्थापन सङ्कायका पूर्वडिन डा भारती जोशीले बजेट ल्याएर मात्र नहुने भएकाले कार्यान्वयन पक्षलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । पुरानै बजेटको निरन्तरताका रूपमा बजेट आएको उहाँले बताउनुभयो । “पुँजीगत खर्च बढी भए मात्र विकासले गति लिन्छ”, उहाँले भन्नुभयो, रोजगारीका अवसर सृजना हुन्छन्, देश आर्थिक समृद्धितर्फ जान्छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ