गण्डकी, १६ जेठ : सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्त्वपूर्ण योजना समेटिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम समावेश छन् ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्न गर्न रु आठ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडलले उल्लेख गर्नुभयो । पर्यटन प्रवर्द्धन तथा आर्थिक क्रियाकलापका दृष्टिले महत्त्वपूर्ण मानिएको पोखरा–बुटवल जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा विस्तार तथा स्तरोन्नति गरिने भएको छ । सालझण्डी–ढोरपाटन सडक निर्माणलाई पनि तीव्रता दिइने उल्लेख छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । वीरेठाँटी–मुक्तिनाथ केबलकार निर्माणका लागि निजी क्षेत्रलाई सहजीकरण गरिने बजेटमा उल्लेख छ । हिमालपारिको जिल्ला मुस्ताङमा उच्च पर्वतीय खेलकुद रङ्गशाला निर्माण गरिने भएको छ । लामो समयदेखि चर्चामा रहेको ढोरपाटनको उत्तरगङ्गा जलाशयुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा निर्धारण गरी निर्माणकार्य सुरु गरिने अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो ।
बुढीगण्डकी जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारीमा निर्माण गरिने भएको छ । उक्त आयोजना सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । यस्तै तनहुँको सेती जलविद्युत् आयोजना सरकारको लगानीमा निर्माण गरिने बजेटमा उल्लेख छ । सम्भाव्यता अध्ययन भइसकेको कास्कीको हेम्जाबाट नयाँ पुलसम्मको सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरिने जनाइएको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने यस क्षेत्रका आकर्षक गन्तव्यस्थलमा पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । कालीगण्डकीलगायत नदीमा जलविहारलगायत पर्यटन प्रवर्द्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । प्रसिद्ध धार्मिकस्थल मुस्ताङको मुक्तिनाथमा पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिने बजेटमा उल्लेख छ ।