पाटन (ललितपुर), १५ जेठः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् प्रतिकार्यमा स्थानीय तहलाई सङ्घ र प्रदेश सरकारको प्रभावकारी सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा आज यहाँ आयोजित जिल्ला विपद् व्यवस्थापन समितिको बैठक र मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना छलफलमा उहाँले विपद्को समयमा एउटा स्थानीय तहले मात्रै केही गर्न सक्दैन भन्दै प्रतिकार्य, राहत र उद्धार कार्यमा सङ्घ, प्रदेश र सङ्घसंस्थाको पनि सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।
“गत वर्षभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ, त्यसलाई ध्यान दिएर तयारी गर्नुपर्नेछ । गत असोज ११ र १२ को पानीले दक्षिणी भेगमा धेरै क्षति पु¥यायो, यस वर्ष हामीले सचेततापूर्वक तयारी गर्नु आवश्यक छ”, महानगर प्रमुख महर्जनले भन्नुभयो ।
उहाँले विपद्को समयमा कतिपय कानुनी व्यवस्था सम्बोधन गर्न कठिनाइ हुने हुँदा काम गर्न असहज हुने गरेको बताउनुभयो । “कतिपय कानुनी प्रबन्ध पूरा गर्न सकिँदैन, कमीकमजोरी हुन्छ, यो समस्या हो, २०७८ सालमा बाढीपीडितलाई गरेको सहयोगका कारण अहिले पनि अख्तियारले दुःख दिइरहेको छ, हामीले यसमा पनि ध्यान दिनुपर्ने अवस्था छ”, प्रमुख महर्जनले भन्नुभयो ।
महानगर प्रमुख महर्जनले विपद्का समयमा परिचालनका लागि ललितपुर महानगरसँग छवटा दमकल, एम्बुलेन्स लगायत सामग्री तयारी अवस्थामा रहेको जानकारी दिँदै छिमेकी स्थानीय तहलाई विपद्को समयमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले विपद्को समयमा सङ्घ र प्रदेशबाट प्रभावकारी काम हुन सकेन भन्दै यसका लागि जिल्लास्थित विषयगत कार्यालयले ध्यान दिएर लाग्नुपर्नेमा जोड दिनुभयो । “कान्तिलोकपथ सडकको सन्दर्भमा राम्रो काम हुन सकेन, विपद् प्राधिकरणले निकालेको योजना पनि कार्यान्वयन हुन सकेन । विपद्पश्चात्का काममा पनि चाहिने ठाउँमा बजेट पर्दैन, रु एक अर्ब चाहिने ठाउँमा रु २० लाख बजेट छुट्याएर प्रभावकारी काम हुँदैन”, उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपद् प्रतिकार्य समूहलाई स्थानीय तहका टोलटोलसम्म पु¥याउन आवश्यक भन्दै यसका लागि सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जिल्लाभित्रका मनसुनबाट हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान तथा प्रभावको आकलन र जोखिमको न्यूनीकरण गर्ने सन्दर्भमा तयारीका विषयमा जानकारी दिनुभयो ।
छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष शिव कट्टेल, नेपाली कांग्रेसका जिल्ला सचिव वशिष्ठकुमार अधिकारी लगायतले धारणा राख्नुभएको थियोे ।