09/11/2025, 05:00:25
बुधबार, भदौ २५, २०८२

सगरमाथा आरोहण गर्नुभएकी प्रनानी शेर्पालाई दज्र्यानी चिह्न


काठमाडौँ, ११ जेठः प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गर्नुभएकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा हुनुभएकी शेर्पालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

यही जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसी) बैठकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सङ्गठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा प्रदान गर्ने निर्णय गरेको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी उहाँले प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि गरेको कार्यको प्रशंसा गर्नुभयो ।

प्रहरी सङ्गठनको प्रतिनिधित्व गर्दै प्रनानी शेर्पाले यही जेठ ५ गते सोमबार बिहान ८ः५६ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको थियो । उहाँले सगरमाथा शिखरबाट नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा ‘महिला र बालिकाविरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौँ’ भन्ने नारासहितको ब्यानर फहराउनु भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..