मोरङ, ११ जेठः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कानुनी कारबाहीमा ल्याइने बताउनुभएको छ ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘सहकारी ऐन र सोसँग सम्बन्धित अन्य कानुनः कार्यान्वयनमा देखिएका समस्या र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले सहकारी अपचलनमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री कार्कीले सहकारीका सदस्यको रकम अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “थोरैथोरै बचत गरेर धेरै रकम बनाई आफ्ना बालबालिकालाई उच्च शिक्षा एवं घर निर्माण गर्ने चाहना भएका सर्वसाधारण सडकमा आएका छन्, उहाँहरूलाई न्याय दिन प्रदेश सरकार प्रतिबद्ध छ ।”
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ऐननियम पालना गरी जनताको आर्थिक समृद्धिमा सहयोग पु¥याउने सहकारीलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सहर केन्द्रित कारोबार गर्ने सहकारीमा बढी समस्या देखिएको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सहकारीमा अहिले देखिएका समस्याको समाधान खोज्दै समृद्धिको बाटोतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापा, समस्याग्रस्त सहकारीका सङ्घीय सदस्य उद्धवप्रसाद तिमल्सना, बागमती प्रदेशका सदस्य यक्षनाथ दाहाल र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य जीवन काफ्लेले देशभर कार्यक्षेत्र बनाई सेवा केन्द्रमार्फत रकम सङ्कलन गरेर भाग्ने प्रवृत्ति बढेको बताउनुभयो ।
कार्यक्रममा सहकारी पीडितहरूले कानुनी विषयभन्दा पनि आफूहरूको बचत फिर्ता यथाशीघ्र हुनुपर्नेमा जोड दिनुभएको थियो ।