ढोरपाटन (बागलुङ), ८ जेठः बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिका तथा ताराखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको हो ।
बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय ६३ जना बालबालिकाले नियमित खोप लगाइरहेका र १६ देखि २४ महिना उमेर समूहका चार सय ४९ जनालाई खोप दिएपछि पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनाका चार सय २७ जना बालबालिका र १६ देखि २३ महिनाका तीन सय २७ बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिनुभयो । पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेका जनाउँदै उहाँले सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको बताउनुभयो ।
ढोरपाटन नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय आठ बालबालिका र १६ देखि २३ महिना उमेर समूहका चार सय ५४ जना बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक भुमिश्वर शर्माले बताउनुभयो । गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको भन्दै गत चैत्र र गत वैशाखमा नौ वटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेसँगै अहिले पालिकालाई घोषणा गरिएको उहाँले उल्लेख गर्नुभयो ।
जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका तीन सय १३ र १६ देखि २३ महिना उमेर समूहका दुई सय २६ बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।
जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका एक सय २३ जनाले नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिनुभयो । पलिकामा छ वटा स्वास्थ्य संस्था रहेका भन्दै ती सबैबाट खोप सेवा दिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, काठेखोला गाउँपालिका, बडिगाड र बरेङ गाउँपालिका पूर्णखोप घोषणा हुन बाँकी छन् । यी पाँच पालिका घोषणा भएपछि बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएको जिल्ला घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले बताउनुभयो । यही जेठ २५ गतेसम्म सबै पालिकामा खोप अभियान सम्पन गरी पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिने उहाँको भनाइ छ ।