05/19/2025, 22:57:49

सरकारी सञ्चारमाध्यमहरुले नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु : सञ्चारमन्त्री गुरुङ


काठमाडौँ, ५ जेठ : सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमलाई कुनै नेताहरुको प्रचार नगरी मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गर्नुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) संस्थाले आज नेपाल टेलिभिजनमा ‘सार्वजनिक सेवा प्रसारण नेपाल रुपान्तरण बहसः विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवर्द्धन’ विषयमा आयोजना गरेको छलफल कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणले नेपाली जनताको आवाज र जनताको प्रतिनिधित्व गर्ने हुँदा अबको कार्यदिशालाई समयसापेक्ष रुपान्तरण गर्न सुझाव दिनुभयो । पिएसबीले उठान गर्ने मुद्दाहरुमा राष्ट्रिय एकताको भाव जगाउने, जनताको दुःख मर्कालाई उजागर गर्ने, समृद्धि र सुशासनमा जोड पुर्‍याउने खालका विषयवस्तु हुनुपर्ने मन्त्री गुरुङले बताउनुभयो ।

रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै चित्त बुझाउने बेला नभएको उल्लेख गर्दै उहाँले अब युग अनुकूलको कार्य सम्पादन गरेर प्रतिस्पर्धामा उत्रिन सुझाव दिनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै पुगेन, अब समय अनुकूलको कार्य क्षमता प्रदर्शन गरेर अघि बढ्नुपर्छ ।

सरकारले गरेका गलत कार्यलाई सुधार गर्ने मार्गचित्रका रुपमा पिएसबी देखा पर्नुपर्ने उहाँको तर्क थियो । यद्यपि समाजमा राष्ट्रिय एकता र सद्भाव जगाउन समावेशी मुलुक बनाउनुपर्ने मन्त्री गुरुङले बताउनुभयो । संसारमा नेपालको पहिचान स्थापित गराउन ‘एनटिभी वल्र्ड’ सुरु गर्न पनि उहाँले सुझाव दिनुभयो ।

सञ्चार सचिव राधिका अर्यालले पिएसबीको सही मोडल अनुसारका कार्य गर्न सुझाव दिनुभयो । जनताले पाउनुपर्ने सही सूचनाको अधिकारलाई संरक्षण गर्नुपर्ने उहाँको धारणा थियो । पिएसबीलाई आत्मनिर्भर बनाउन आवश्यक रचनात्मक क्रियाकलाप अपनाउनुपर्नेमा सचिव अर्यालले जोड दिनुभयो । साथै, विनियमावली बनाउन र जनशक्तिको उचित व्यवस्थापन गर्न मन्त्रालयले सक्रिय भूमिका खेल्दै आएको बताउनुभयो ।

पिएसबीका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जनता पहिलो भन्ने भावका साथ पिएसबीका हरेक कार्यक्रम सिर्जना गरिने बताउँदै यसका लागि विज्ञहरुसँग छलफल गरिएको बताउनुभयो । नेपाल टेलिभिजन र रेडियो नेपाल अब जनताको आवाज मुखरित गर्न कटिबद्ध हुने उहाँको भनाइ थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ