काठमाडौँ, २ जेठ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभा राज्यव्यवस्था समितिबाट अघि बढेको सङ्घीय निजामती ऐनसम्बन्धी विधेयकलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आज यहाँ आयोजित ‘आगामी बजेट र कर्मचारीका अपेक्षा’ विषयक कार्यक्रममा मन्त्री गुप्ताले लामो समयपछि अथक मेहनतकासाथ अघि बढाइएको विधेयकमा केही कमीकमजोरी भए पनि स्वीकार गर्दै अघि बढ्न निजामती प्रशासन सेवाका कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्री गुप्ताले भन्नुभयो, “ऐनलाई कार्यान्वयन गर्दै जाने क्रममा देखिएका समस्यालाई आवश्यकताअनुरुप संशोधन र परिमार्जन गर्दै लगिनेछ । यसले लथालिङ्ग अवस्थामा रहेको निजामती क्षेत्रलाई सही मार्गमा अघि बढाउन योगदान पु¥याउनेछ ।”
सङ्गठनका अध्यक्ष भवानी न्यौपाने, वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम र महासचिव रामचन्द्र गौतमले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा निजामती प्रशासन र सङ्गठनको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । आफ्नो माग मुद्दा उठाउने र कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने सिलसिलामा लोकतन्त्रलाई खतरा नपुगेस् भन्नेमा सङ्गठन सजग र सचेत रहेको उल्लेख गर्दै उहाँहरुले बजार मूल्यका आधारमा थोरै सेवा सुविधा भए पनि राज्यकातर्फबाट नागरिकलाई उपलब्ध गराउनुपर्ने सरल र सहज रुपमा उपलब्ध सबै कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँहरुले निजामती सेवामा रहेका कर्मचारीको आधारभूत तलबमान रु ४० हजारबाट सुरु गर्नुपर्नेलगायत माग प्रस्तुत गर्नुभयो ।