काठमाडौँ, २ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन सरकार लागिपरेको बताउनुभएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत निजी क्षेत्रसँगको भेटमा उहाँले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन आफूले पहल गरिरहेको बताउनुभयो ।
ऊर्जामन्त्री खड्काले आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता जलविद्युत् क्षेत्रमा उल्लेख्य काम गरेको बताउँदै सरकारको नीति निजी क्षेत्रलाई प्रोत्साहन गर्ने रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको ऊर्जा र जलविद्युत्को क्षेत्रमा लगानी गर्न एनआरएनएलाई आग्रह गर्नुभयो । देश विकासमा एनआरएनएको ठूलो भूमिका रहेको उहाँको भनाइ थियो ।
भेटमा महासङ्घका अध्यक्ष ढकालले नेपालमा जलविद्युत् क्षेत्रको अपार सम्भावना भएको भन्दै यसको विकासका लागि आवश्यक नीति नियमलाई सहज बनाउनुपर्ने बताउनुभयो ।

एनआरएनएका अध्यक्ष श्रेष्ठले नीतिगत सुधार गर्दा विदेशमा बस्ने नेपालीहरूले सिकेका सीप र पुँजीमार्फत देश विकास गर्न सकिने बताउनुभयो । उहाँले आगामी दिनमा आफूहरू जलविद्युत्को क्षेत्रमा काम गर्ने योजनामा रहेको बताउनुभयो ।
भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जासचिव सुरेश आचार्य, प्रतिनिधिसभा सदस्य देवी भट्टचन, गण्डकी प्रदेशसभा सदस्य जीत शेरचन लगायतको सहभागिता थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










