काठमाडौँ, ३० वैशाख : सांसद ठाकुरप्रसाद गैरेले जलवायुजन्य सङ्कटले सताइरहेको बेलामा जलवायु न्यायका लागि ‘सगरमाथा संवाद’ आयोजना हुनु सुखद पक्ष रहेको र संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा उहाँले जलवायु परिवर्तनको कारण बाढी पहिरोको जोखिम तथा अन्य प्राकृतिक विपद्का घटना बढिरहेकाले जलवायु न्याय स्थापित गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । बैठकमा सांसद डिगबहादुर लिम्बूले मोरङ क्षेत्र नं १ मा गत वर्ष असोजमा आएको बाढीका कारण सिँचाइ तथा खानेपानीका मुहान सुक्दै गइरहेकाले विपद् व्यवस्थापन गर्न ती क्षेत्रमा बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद डोलप्रसाद अर्यालले वर्षायाममा बाढी पहिरोबाट नागरिकले कष्ट भोग्नुपर्ने भएकाले समयमै विपद् व्यवस्थापनको वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारपछि विस्थापित परिवारको पुनस्र्थापना गर्न सरकारसँग माग गर्नुभयो । सांसद डा तोसिमा कार्कीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्गको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद दिक्पालकुमार शाहीले दैलेखको आठबीस नगरपालिकामा विद्युत् वितरण अव्यवस्थित भएकाले त्यसलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो । सांसद दीपकबहादुर सिंहले जिल्ला दर रेट कायम राख्दा राजस्व कार्यालयलाई पनि राय दिनका लागि राख्नुपर्ने तथा नीतिगत भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिनुभयो ।
सांसद नारायणी शर्माले तराई–मधेशमा तापक्रम अत्यधिक बढिरहेको बेलामा विद्युत्भार कटौती भइरहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद निशा डाँगीले मुलुकको दिगो विकास, सीप विकासको तालिम र रोजगारी तथा गुणस्तरीय शिक्षा, सुशासनको आवश्यकता रहेको बताउनुभयो ।
सांसद पुष्पबहादुर शाहले ५० शय्याको अछाम जिल्ला अस्पतालको ठेक्का प्रक्रिया अगाडि बढाएकाले त्यसका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गर्नुभयो । सांसद प्रकाश ज्वालाले सल्यान तरकारी तथा फलफूलको भण्डार रहेकाले सिँचाइ र विद्युत्को व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद प्रेमबहादुर महर्जनले गत वर्ष असोज ११ र १२ गते गएको बाढीका कारण ठूलो धनजनको क्षति भएकाले जोखिमपूर्ण बस्तीको सुरक्षाका लागि पहल गर्नुपर्ने, भत्किएका पुलहरु मर्मत तथा समयमा नै नदी सफाइ गर्नुपर्नेमा जोड दिनुभयो । सांसद विन्दबासिनी कङ्साकारले हेटाँैडा उपमहानगरपालिका–१७ सञ्चार सुविधाविहीन रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।