05/11/2025, 00:56:26

गभर्नर नियुक्तिमा अर्बौंको चलखेल : उपाध्यक्ष स्वर्णिम वाग्ले


नवलपरासी २७ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सरकारमा रहेका दुई ठूला दलबीच कुन पक्षका बिचौलियामार्फत गर्भनर नियुक्त गराउने भनेर होडबाजी सुरु भएको बताएका छन् ।

पूर्वी नवलपरासीस्थित रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा शनिबार सञ्चारकर्मीसँग बोल्दै उनले गर्भनर नियुक्तिमा अर्बौंको चलखेल सुरु भएको र यो देशका लागि अत्यन्त दुर्भाग्य हुने बताए । ‘दुई ठूला दलले गर्भनर नियुक्ति गर्ने भए त भइसक्थ्यो । यहाँ त ती दल सञ्चालन गर्ने बिचौलियाले कसलाई नियुक्ति गर्ने भनेर हानथाप छ,’ उनले भने, ‘नियमअनुसार हुने हो भने राष्ट्र बैंकमै कार्यरत अर्थविद् गुणाखर भट्ट भइसक्थे । उनी अत्यन्त क्षमतावान् र काबिल अर्थशास्त्री हुन् । उनलाई फालेर अर्थतन्त्रमा ज्ञान नै नभएकालाई गर्भनर नियुक्त गर्ने भन्ने कुरा आइसक्यो ।

सारा वित्तीय अनुशासन ध्वस्त पार्न कांग्रेस र एमाले कम्मर कसेर लागेको हुँदा बिचौलियाको इसारामा अक्षम गर्भनर ल्याउन उद्यत रहेको वाग्लेले आरोप लगाए ।

आज मैले र शेरबहादुर देउवाले पाउने तलब मासिक ६६ हजार नै हो । आज देउवा र ओली कुनै जिल्ला जानुपर्‍यो भने गाडीका लावालस्कर, कार्यकर्तालाई गराइने खानपिन र रवाफमा कम्तीमा एक दिनमा ७-८ लाख खर्च हुन्छ । त्यो पैसा कहाँबाट जुटाउँछन् ? भ्रष्टीकरणका लागि त पैसा उठाउनुपर्‍यो,’ वाग्लेले भने, ‘देउवा र ओलीले कहिल्यै किन सत्ता छाड्दैनन् भने भ्रष्टीकरण गरेर कमाएको अकूत सम्पत्तिको छानबिन हुनै नसकोस् भनेर हो ।

मुख्य नेताकै सेटिङमा अख्तियार, प्रहरी र कर्मचारी र अलिअलि अदालत पनि ध्वस्त बनेको उनले तर्क गरे । दुई ठूला दल मिलेर सरकार सञ्चालन गर्ने घटना संसारमै बिरलै देखिने गरेको उनको भनाइ थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ