04/30/2025, 16:36:52

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान


वीरगञ्ज (पर्सा), १७ वैशाखः वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ । चालु आर्थिक वर्षमा रु ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ३७ करोड ३३ लाख मात्र उठेकाले अभियान थालिएको हो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र राजस्व महाशाखा प्रमुख मनोज कर्णलगायत पदाधिकारी सम्मिलित टोलीले गत आइतबारदेखि यहाँका व्यवसायीले व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न आनाकानी गरेकाले अभियान थालिएको जनाइएको छ ।

राजस्व महाशाखा प्रमुख कर्णले भन्नुभयो, ‘‘दैनिक १३० वटा पसलको अनुगमन गरिरहेका छौँ । औसतमा ८० प्रतिशतभन्दा धेरै पसलले कर नतिरेको भेटिएको छ । हामीले सातदिने सूचना दिएर कर तिर्न आह्वान गरेका छौँ ।” महानगरको टोली अनुगमनमा आएपछि मीनाबजार, घण्टाघर चोक, लिङ्करोडलगायत स्थानका व्यापारी तथा व्यवसायी सटर बन्द गरेर भागेका थिए ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ