घोडाघोडी (कैलाली), १६ वैशाखः लस्करै खाना पकाउन चुलो लगाइएको थियो । कोही खाना पकाउन व्यस्त देखिन्थे भने कोही खाना भाग लगाउन व्यस्त देखिन्थे । छेउमै थारु समुदायले गाउने ‘सजना’ सुकमैया र रामलाल चौधरी गीत गाउनमा व्यस्त थिए ।
यो दृश्य हो खुला चौरमा बसी अबेर घर फर्किएका कैलालीको घोडाघोडी नगरपालिका–३ नारायणपुरका थारु समुदायको । सोमबार नारायणपुरका एक सय ७१ परिवार दिनभरि खुला चौरमा बसेर पूजा गरी खानपिनसँगै रमाइलो गरेर अबेर घर फर्किए । केही दिनअघि घोडाघोडी एक श्रष्टिनगरका थारु समुदाय पनि खुला चौरमा बसी त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए ।
खुुलाचौरमा थारुहरूको महत्त्वपूर्ण पूजा भजहर मनाउन बसेका देखिन्थ्ये उनीहरू । अहिले कैलाली, कञ्चनपुरलगायत थारु समुदायमा भजहरको रौनक छाएको छ । हरेक स्थानमा फरकफरक दिनमा भजहर बस्ने गरिन्छ ।
घोडाघोडी नगरपालिकामा वैशाख २० गतेभित्र सबै गाउमा सक्नेगरी भजहर मनाउने निर्णय भएको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा समितिका सचिव अमन चौधरीले जानकारी दिनुभयो । वैशाखमा मनाइने यो पर्व थारु समुुदायले गर्ने पूजामध्ये एक हो ।
“यो पूजासँगै थारु समुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधीले सताउने हुँदा त्यस्ता रोग व्याधी नलागोस् भनेर पूजा गरिन्छ । भजहरको दिन बिहानै गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ”, नगर भल्मन्सा बुधराम चौधरीले भन्नुभयो । दुर्गालाई खुसी पार्न पशुपक्षीको बलि दिने, गुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । यसले महामारी, रोगव्याधी हट्ने मान्यता रहेको उहाँले बताउनुभयो ।
पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुँगुर र कुखुरा बलि दिने गरिन्छ । भजहरमा दुर्गालाई पूजा गरे सुुखशान्ति छाउने र कुनै पनि महामारीले नछुने गुरुवा पञ्चराम चौधरीले बताउनुभयो । “भजहर मनाउने परम्परा भने पहिले र अहिलेमा फरक भएको छ । पहिले नौदेखि सात दिनसम्म भजहर बस्ने गरिन्थ्यो । अहिले एक दिनमात्रै बस्ने गरिन्छ । कतिपय समुदायमा अहिले पनि पाँच दिन, तीन दिन र साढे दुई दिन पनि बस्ने गरिन्छ”, उहाँले भन्नुभयो ।
भजहरको किंवदन्ती
भजहरको सुरुआत कसरी भयो भन्ने कुरामा विभिन्न जानकारहरूका छुट्टाछुट्टै कथा र मान्यताहरू रहेका थारु संस्कृतिका अध्येता डा रामप्रसाद चौधरीले बताउनुभयो । धेरै किंवदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको उहाँले जानकारी दिनुभयो ।
रावणको कब्जाबाट अयोध्या ल्याएपश्चात् जब रामले गर्भवती सीतालाई पुनःवनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उहाँलाई घर बाहिर भोजन भण्डारा गराउँछन् । सोही कुराको स्मरण गर्दै थारु समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको डा चौधरीले बताउनुभयो ।
सीताको किंवदन्तीसँग जोडिएको भजहरमा विस्तारै गुुरुवाहरूले दुर्गाको पूजाआजा गर्ने चलन जोडिँदै गएको डा चौधरीले जानकारी दिनुभयो । उहाँका अनुुसार विशेषगरी गर्मीयाममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुँदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुर्गाको पूजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसोगरे सम्पूर्ण महामारीबाट मुक्त हुने थारु समुदायको विश्वास छ ।
थारु समुदायको देवीदेवता पुज्ने, गाउँलाई महामारीबाट मुक्त गर्ने, झारफुक गर्ने, भूतप्रेतलगायत अनिष्टबाट बचाउन हरेक गाउँमा गुरुवा हुन्छन् । गाउँमा दुःख विमार एवं ठूलो विपत्ति आइपर्दा गाउँका भलमन्साले गुरुवालाई बोलाएर ठीक पार्ने गर्दथे । भजहर बसेन भने ठूलो विपत्ति आउने, महामारी र रोगव्याधीले सताउने मान्यता रहेको घोडाघोडी नगरपालिका वडा नं ३ कि भलमन्सा सीताबी कठरीयाले बताउनुभयो ।
महिलालाई खुसी राख्नसके परिवार र गाउँ समाज सुखी हुने विश्वासका साथ पनि भजहरलाई हेर्ने गरिन्छ । घरधन्दा र खेतीपातीमा व्यस्त महिला स्वतन्त्र रूपले घुम्न नपाउने अवस्थामा भजहरले सबैलाई एक ठाउँमा जम्मा हुने अवसर जुटाउने गर्दछन् ।
भजहरमा सबैजना जम्मा भएर एकअर्काका सुुखदुुःख साट्ने गरेको भजहरमा सहभागी घोडाघोडी नगरपालिका–३ सुधिया देवी चौधरी बताउनुहुन्छ । भजहरका बेला गाउँका सबै महिला दिदीबहिनी एक ठाउँमा जम्मा हुने, स्वतन्त्र रुपमा आफ्ना सुखदुःखका कुरा साटासाट गर्ने, सँगै पकाउने खाने, नाचगान गर्ने र खुला आकाशमुनि सुतेर रमाइलो गर्ने परम्परा रहिआएको छ ।