काठमाडौँ, १५ वैशाख : देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ ।
सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिइएको र सोहीअनुसार काम भइरहेको छ । खानेपानीमन्त्री प्रदीप यादवले अब सिंहदरबारमा खानेपानीका बोतल र जार निषेध गर्ने घोषणा गर्नुभएको थियो । हाल मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र रुपमा अगाडि बढेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ई मीना श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिंहदरबारमा बोतल र जारको पानी निषेध गर्न मन्त्रीले निर्देशन दिनुभएको छ । अब यहाँ मेलम्चीको पानी वितरणका लागि काम तीब्र रुपमा अगाडि बढेको छ ।”
मेलम्ची खानेपानी वितरण प्रणालीबाट पठाइएको पानी ढुक्क भएर पिउन मिल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी प्रमुख अशोककुमार पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीबाट जोडिएको पानी शुद्ध र पिउन योग्य हुन्छ । अब चाँडै सिंहदरबारमा मेलम्चीको पानी वितरण हुन्छ ।”