बरहथवा (सर्लाही), १५ वैशाखः सर्लाहीको हरिपुर नगरपालिका–१, हजरियाका रमेश मैनालीको दिन बाँदर र रात हात्ती रुँगेर बितिरहेको छ । मूर्तिया जङ्गल नजिकै रहेकाले जङ्गली जनावरबाट मकैखेती जोगाउन अचेल यसरी नै समय बिताइरेको उहाँले बताउनुभयो ।
“गत मङ्सिरमा लगाएको वर्णशङ्कर जातको मकैमा दान लाग्न सुरु भएको छ, तर नजिकैको वनबाट आउने बाँदरले मकै रोपेको दिनदेखि नै दुःख दिन थालेको हो । त्यही समयदेखि खेतमै टहरो बनाएर बस्नुपरेको छ”, मैनालीले भन्नुभयो, “सुरुदेखि नै बाँदरको दुःख छँदै थियो । विगत तीन सातायता जङ्गली हात्तीले पनि उस्तै समस्या पारेको छ ।”
अर्का किसान बिचारी महतोले हात्तिले घोगामा दाना लागेको मकै खाने र साना मकै कुल्चेर नोक्सान पु¥याइरहेको बताउनुभयो । उहाँले छ महिनादेखि आफ्नो घरको बास हुन नसकेको र मकैबारीमै बस्नुपरेको बाध्यता सुनाउनुभयो । “जङ्गली जनावर बाँदर र हात्तीको आतङ्क बढेको छ । खेतमा बीउ रोपेको दिनदेखि बाली नभित्र्याएसम्म खेतमै बस्नुपर्ने बाध्यता छ”, महतोले भन्नुभयो, ‘‘दुई मिनेटमात्र मान्छे देखेन भने बाँदरको बथानले पाँच कट्ठा खेत सखाप बनाइदिन्छ । आँखा झिमिक्कै गर्न पाइँदैन ।”
केही दिनदेखि वन क्षेत्रमा पस्न थालेको हात्तीले खेतबारी मात्र नभई ज्यानै हत्केलामा राखेर बस्नुपरेको स्थानीयको गुनासो छ । हात्तीको समूहले बरहथवा, हरिवन र हरिपुर क्षेत्रमा निकै दुःख दिइरहेको छ । बाली भित्र्याउने बेलामा हात्तीले आतङ्क मच्चाउँदा आफूहरूलाई निकै समस्या भएको हरिपुर नगरपालिका–२, सखुवाका किसान रवि कडरियाले बताउनुभयो । यो एक हप्तामा मात्रै उहाँको पाँच कट्ठा खेतमा लगाइएको मकै हात्तीले कुल्चिएर नास गरिदिएको छ । “हात्तीले निकै दुःख गरेर हुर्काएको मकै नाश गरेको छ । बाली हेर्दा पनि भक्कानो फुटेर आउँछ”, उहाँले भन्नुभयो ।
विगतमा हात्ती आउने गरे पनि यसरी बाली नाश गरेको भने पहिलोपटक गरेको स्थानीय केदार बुढाथोकीको भनाइ छ । हरिपुर्वा नगरपालिकाको सखुवा आसपास क्षेत्रमा मात्र केही दिनदेखि जङ्गली हात्तीले पाँच बिगाहाभन्दा बढी खेतको मकैमा क्षति गरिसकेको उहाँले बताउनुभयो । “हात्ती दिनभरि वनमा लुके पनि रात परेपछि खेतमा पस्ने गरेको छ । चारै तिरबाट वनले घेरेको खेत भएकाले मान्छे एकातर्फ रुँगेर बस्ने र अर्को तर्फबाट हात्ती खेतमा पसेर बाली सखाप गर्ने समस्या छ”, बुढाथोकीले भन्नुभयो ।
अर्का किसान इन्द्रबहादुर खड्काले हात्तीलाई टिनका भाडा ठटाएर र होहल्ला गरेर भगाउने गरेको सुनाउनुभयो । कैयन दिन हात्तीसँग जम्काभेट हुँदा भागेर ज्यान जोगाएको उहाँले स्मरण गर्नुभयो । “बालीनालीसँगै हात्तीले कुन दिन ज्यान लिने हो पत्तो छैन तर बाली जोगाउन यसरी बस्नुको विकल्प पनि छैन”, खड्काको कथन छ । यहाँ हरिण, नीलगाई, बनेललगायतका जङ्गली जनावरको पनि त्यस्तै आतङ्क छ । यहाँको मूर्तिया जङ्गल क्षेत्रका केही किसानले यी जनावरबाट बाली जोगाउन आफ्नै लगानीमा करिब एक किलोमिटर क्षेत्रमा तारजालीसमेत लगाएका छन् । जङ्गली जनावरको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारले आवश्यक सहयोग गर्न स्थानीयको आग्रह छ ।
हरिपुर नगरपालिका–१, का वडाध्यक्ष नानीबाबु थापाले हात्तीका कारण स्थानीय नागरिक आतङ्कित बनेको बताउनुभयो । यो समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले यो क्षेत्र हात्ती हिँड्ने पुरानो जैविकमार्ग भएकाले समस्या हुने गरेको बताउनुभयो । विसं २०२८ सम्म नगर क्षेत्रमा हात्ती स्याहार केन्द्र रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यहाँका हात्तीलाई २०३६ सालसम्म पर्सा र चितवन पु¥याइएको थियो तर आफू हिँडेको, घुमेको ठाउँहरू छिट्टै नभुल्ने भएकाले पनि आफ्ना सन्तानलाई लिएर बर्सेनि यहाँ आउने गरेका हुन् । हाल हात्तीले क्षति गरेका स्थानमा पहिले वन भएकाले यो समस्या आउने गरेको छ ।”
यस्तोमा मानिस आँफैले सावधानी अपनाएर हात्तीलाई आफ्नो हिसाबले फर्कन दिनु नै सही हुने भन्दै कार्यालय प्रमुख झाले त्यले क्षति गरिहालेमा राहत उपलब्ध गराउने प्रावधान रहेको बताउनुभयो । उहाँले क्षतिको निवेदन लिएर आए आफूहरूले राहतका लागि निकुञ्जमा पठाई सहयोग गर्ने जानकारी दिनुभयो ।