काठमाडौँ, १३ वैशाखः राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं १० स्थित रुद्रमती दोभानबाट बुद्धनगरपुलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
बागमती सफाइ महाअभियानको ६२४औँ हप्तामा यस क्षेत्रमा सफाइ गरिएको हो । सफाइ अभियानबाट व्यवस्थापन गरिएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको बागमती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।
वडाध्यक्ष रामकुमार केसीको नेतृत्वमा यस क्षेत्रमा सफाइ गरिएको हो । सफाइमा बागमती प्रदेशका पूर्वपर्यटन तथा संस्कृतिमन्त्री एवं प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा न १० का सदस्य सतिस तण्डुकारलगायत जनप्रतिनिधि र स्थानीयवासीको पनि सक्रियता थियो ।
आगामी शनिबार ६२५औँ हप्ताको सफाइ बागमती रुद्रमती दोभान वडा न ११ स्थित शिव मन्दिरबाट बागमती नदी किनारसम्म गरिने जनाइएको छ । त्यस क्षेत्रको सफाइ पनि वडा नं. ११ का अध्यक्षको नेतृत्वमा गरिने महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा वाग्मती किनारमा नदी सफाइ गरिँदै आएको छ । सफाइमा अभियानकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता रहने गरेको छ ।