04/30/2025, 07:10:59

जलवायु परिवर्तनका कारण प्राकृतिक प्रणालीको अस्तित्व सङ्कटमा


सोलुखुम्बु, १०  वैशाख: रक्षामन्त्री मानवीर राईले मानवीय क्रियाकलापका कारण सृजित जलवायु परिवर्तनका कारण जीवजन्तु र प्राकृतिक प्रणाली अस्तित्वको सङ्कटमा परेको बताउनुभएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा आज आयोजित आरोही सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असर विश्वभर तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यो समस्या नेपालका मात्रै नभइ विश्वको भएको बताउनुभयो । विकसित देशहरूले उत्सर्जन गरेका हरितगृह ग्यासका कारण उत्पन्न समस्याको समाधानका लागि अब विश्व समुदाय एकजुट भएर अनुकूलनको बाटो रोज्नपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री राईले प्राकृतिक सन्तुलनको विघटनको प्रमुख कारण मानवीय गतिविधि रहेको उल्लेख गर्दै वातावरणीय विनाशको मुख्य जिम्मेवारी सम्पन्न राष्ट्रहरूले लिनुपर्ने तर्क गर्नुभयो । “विकसित मुलुकहरूको उत्पादन र प्रविधि आधारित जीवनशैलीले पृथ्वीको तापक्रम बढाएको छ । यसको असर खासगरी जल, जमिन, हिउँ र हावामा स्पष्ट देखिएको छ”, उहाँले भन्नुभयो ।

आरोही सम्मेलनमा सहभागी आरोही, जनप्रतिनिधि, सरकारी अधिकारी, वातावरणविद् र स्थानीयवासीहरूको सहभागितामा छलफलपछिको निष्कर्षका रूपमा पाँच बुँदे थामे घोषणापत्र सार्वजनिक गरिएको थियो । घोषणापत्रमा थामेलगायतका स्थानमा बाढीपहिरो तथा जलवायु प्रभावित क्षेत्रको मुद्दालाई आगामी जेठ २ गते काठमाडौँमा आयोजना हुने सगरमाथा संवादमा प्राथमिकताका साथ उठान गर्नुपर्ने उल्लेख गरिएको छ ।

घोषणापत्रले हिमाली क्षेत्रका स्थानीय बासिन्दाको जलवायु प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न, वातावरणीय न्याय र संरक्षणमा केन्द्रित नीति निर्माणका लागि सरोकारवालाबीच सहकार्यको आवश्यकता औँल्याएको छ । साथै आरोही समुदायलाई जलवायु प्रवक्ता बनाउँदै अन्तरराष्ट्रिय समुदायमा हिमाली सङ्कटबारे आवाज बुलन्द गर्न एकजुट हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ