04/22/2025, 20:05:56

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी


इटहरी (सुनसरी), ९ वैशाखः यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ८ः३० बजे खोटाङको केपिलास गढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उहाँका भान्जा इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य डुबेर बेपत्ता हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले घटनाबारे जानकारी पाउना साथ उद्धारमा प्रहरी खटाइएको बताउनुभयो । गोताखोरसहितको अनुभवी सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजतलास गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, “हिजो पानीको सतह बढेको र धमिलो भएकाले खोजीमा समस्या भएको थियो । आज बिहानैदेखि खोजी भइरहेको छ ।”

सशस्त्र प्रहरी बलका पाँच जनाको तालिम प्राप्त गोताखोरको टोलीसहित ११ जना पौडीबाज बिहानैदेखि खटिएको सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । उहाँहरु बराह क्षेत्र मन्दिरमा पूजागर्न गएका बेला नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ