04/22/2025, 00:39:59

विदेशिएका श्रमिकको हितका लागि सरकारले थप कार्यक्रम ल्याउँछ: स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ, ८ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हितका लागि केही महत्वपूर्ण कार्यक्रम तय गर्ने बताउनुभएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा ‘नेपाल फेष्टिभल २०२५’ को उद्घाटन गर्दै आज उहाँले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको र यसको समाधानका लागि केही कार्यक्रम ल्याउने बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “तपाईंहरुको स्वास्थ्य हाम्रो पनि चिन्ताको विषय हो । देश फर्कंदा पनि स्वस्थ भएर फर्काउन कसरी सकिन्छ भन्नेमा हामी काम गरिरहेका छौँ ।

उहाँले विदेशमै रहँदा पनि टेलिमेडिसिनमार्फत नागरिकले स्वास्थ्य लाभ लिन सक्ने गरी सरकारले व्यवस्था गरेको भन्दै विदेशिने क्रममा तिर्नुपर्ने महँगो स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मुल्यमा गराउने गरी गृहकार्य भइरहेको जानकारी दिनुभयो । “स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल सरकारले उच्च प्राथमिकता साथ काम गरिरहेको छ । युएईको भ्रमणका क्रममा पनि मैले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेको छु”, मन्त्री पौडेलले भन्नुभयो ।

नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएकाले मित्रराष्ट्रका नागरिकलाई कम्तिमा एकपटक नेपाल भ्रमण गर्ने वातावरण बनाउन उहाँले अनुरोध गर्नुभयो । मन्त्री पौडेलले नेपाल र युएईबीच द्विपक्षीय सहकार्यका लागि प्रचुर सम्भावनाका क्षेत्रहरू रहेको भन्दै पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रमा दुईदेशबीच सहकार्य गरी अघि बढ्न सकिने धारणा राख्नुभयो ।

नेपाली दूतावास अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली सङ्घ, यूएई, नेपाली समाज युएईलगायत सामाजिक सङ्घसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक उक्त कार्यक्रम आयोजना गरिएको युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

राजदूत क्षेत्रीले नेपाल फेस्टिभल–२०२५ जस्ता कार्यक्रमले नेपाल र युएईको सम्बन्धलाई अझ प्रगाढ र घनिष्ट बनाउँदै सांस्कृतिक कूटनीतिका माध्यमबाट दुई देशका जनतालाई जोड्ने सेतुको काम गर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकास र समृद्धिका लागि युएईमा रहेका नेपालीलाई आह्वान गर्नुभयो । फेस्टिभलमा युएई सरकारका उच्च पदाधिकारी, विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुख, विभिन्न अन्तरराष्ट्रिय कम्पनीमा कार्यरत विदेशी नागरिक, नेपालका शुभचिन्तकलगायत सहभागी रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ