04/18/2025, 06:11:19

गृहमन्त्री लेखकद्वारा आन्दोलनका घाइतेको स्वास्थ्यावस्था बारे जानकारी


काठमाडौँ, २७ चैत : गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेलाई आज विभिन्न अस्पताल पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । गृहमन्त्री लेखकले घाइतेहरूको उपचारको व्यवस्था सरकारले मिलाउने बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले पनि तीनकुने घटनाका घाइतेलाई सरकारले उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “अस्पतालले घाइतेको उपचार निःशुल्क गरेको वा नगरेकोबारे बुझ्न आएको छु ।

उहाँले बिरामीका आफन्तले आफँैले खर्च गरिसकेको बिलको प्रमाणीकरण अस्पतालले गर्ने र त्यसको भुक्तानी सरकारले गर्ने जानकारी दिनुभयो । “अहिले बाहिरबाट औषधि किनेर खर्च गरे पनि त्यो खर्च गरेको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ र त्यसको भुक्तानी सरकारले गर्छ ।

पूर्वराजाका समर्थकले यही चैत १५ गते तीनकुने क्षेत्रमा गरेको प्रदर्शनपछि भएको झडपमा दुई जनाको मृत्यु भएको थियो । सो घटनाका पाँच घाइते हाल उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत हुनुहुन्छ ।

त्यसैगरी मन्त्री लेखकले जनकपुरको तबेला नगरपालिकामा भएको आन्दोलनमा घाइते भएका सञ्जय यादवको समेत स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यादव राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत हुनुहुन्छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ